एसियन गेम्सको तयारीमा तेक्वान्दो निर्णायक


काठमाडौं । यसै वर्षको अगस्टमा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली तेक्वान्दोका निर्णायक कोरिया प्रस्थान गरेका छन् । एसियन तेक्वान्दो युनियन (एटियू) को आयोजनामा एसियन गेम्सलाई लक्षित गरी हुने तेक्वान्दो रेफ्री एडभान्स कोर्समा तेक्वान्दो संस्थापक एवं तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, नविनकुमार श्रेष्ठ र गोविन्द शर्माले सहभागिता जनाउन लागेका हुन् । कोरियाको मुजु शहरमा बुधबारदेखि सुरु भएको रेफ्री कोर्स आगामी २६ मार्चसम्म सञ्चालन हुनेछ । इन्डोनेसियाको जाकार्तामा आगामी अगस्टदेखि सुरु हुने एसियन गेम्सका लागि एटियूले नेपालका ३ निर्णायकलाई छनोट गरेको थियो ।
सोही अनुरुप तीन रेफ्री राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा कोर्समा सहभागिता जनाउन लागेका हुन् ।नेपाली रेफ्रीले पुम्से र ग्यरोगी दुवैमा कोर्स गर्नेछन् । अगामी एसियन गेम्सदेखि पहिलोपटक पुम्से विधामा पनि समावेश हुँदैछ । त्यसमा पुम्से राखिएकाले नेपाली रेफ्रीले त्यसबारे पनि प्रशिक्षण लिने टोलीका सदस्य शर्माले जानकारी दिए । पुम्सकै लागि एटियूले एसियाका विभिन्न राष्ट्रबाट रेफ्री छनोट गरेको थियो । नेपाली टोलीका रेफ्री शर्माले यो कार्सले नेपाली खेलाडीलाई एसियन गेम्सको तयारीमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Comment