पुलिस या थ्रीस्टार कसले जित्ला मनकामना केबलकार पोखरा कपको उपाधि ?

manakamana final preview
प्रेमनारायण न्यौपाने

गत वर्षको उपविजेता थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच शनिबार पोखरा रड्डशालामा मनकामना केबलकार पोखरा कप–२०७१ को उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ। पोखरामा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका नेपालका यी दुवै टीमको आ–आफ्नै विशेषता छ।
थ्रीस्टारमा नेपाली राष्ट्रिय टीमबाट खेलेका किरण, सन्दीप, सागर, सरोज, विक्रम, जगजीत, निराजन, सन्तोष, अमर र असीमसहित १० जना खेलाडी छन्। यीमध्ये असीमजंग कार्कीमात्र मैदानमा ओर्लिन बाँकी छन् भने बाँकी सबैले विपक्षीविरुद्ध खेलिसकेका छन्।यस्तै रितेश, सुमन, भोला, जुमनु, रविनसहित मात्र पाँचजना राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसमा सबै खेलाडी मैदानमा उत्रिइसकेका छन्।
पुलिसले पहिलो खेलमा रुपन्देहीलाई टाइब्रेकरमा, दोस्रो खेलमा आर्मीलाई २–० र तेस्रो खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलसम्म आइपुगेको हो भने बाई पाएर सोझै क्वाटरफाइनलमा प्रवेश पाएको थ्रीस्टारले पहिलो खेलमा आयोजक पोखरा–११ लाई १–० तथा दोस्रो खेलमा एपीएफ क्लबलाई १–० ले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो।
यसपटकको प्रतियोगितामा थ्रीस्टारले ३ः५ः२ को नयाँ रणनीति अपनायो भने पुलिसले पुरानै ४ः४ः२ को रणनीति अपनाएको छ। नयाँ रणनीतिमा सफल देखिएका थ्रीस्टारका प्रशिक्षक अञ्जन केसीले फाइनलमा पनि यही रणनीति अपनाउने संकेत देखिएको छ भने पुलिसको पनि पुरानै रणनीति दोहोरिने अनुमान छ।दुवैको रणनीति सफल भएको छ। दुई खेल खेलेको थ्रीस्टारले विपक्षीविरुद्ध दुई गोल गरेको छ भने कुनै गोल खाएको छैन। यस्तै पुलिसले चार गोल गरेको छ भने मात्र एक गोल खाएको छ।उसको एक खेल गोलरहित बराबरीमा सकिएर टाइब्रेकरमा टुड्डिएको थियो।
पुलिसलाई सबैभन्दा धेरै फापेको क्षेत्र पोखरा नै हो। उसले पाँचपटक पोखराबाटै उपाधि उचालिसकेको छ भने थ्रीस्टारले मात्र तीनपटक। शनिबार हुने फाइनलमा थ्रीस्टारको फरवार्डले पुलिसको डिफेन्सलाइन र पुलिसको फरवार्डले थ्रीस्टारको डिफेन्सलाइनलाई चिर्न हम्मेहम्मे पर्नेछ।
थ्रीस्टारले विक्रम लामा, जगजीत श्रेष्ठ, विजय गुरुङ, निराजन खड्का र भिक्टोरलाई मिड तथा सागर थापा, सन्दीप राई र सरोज दाहाललाई डिफेन्सको जिम्मा लगाउने छ। बेन्चमा राम्रो रक्षक नभएका कारण  एकजना घाइते भएमो उसलाई समस्या पर्ने देखिन्छ। पुलिसमा भने केही पुराना र केही नयाँ तर जुझारु खेलाडी छन्। पुलिसलाई समस्यामात्र कप्तान जुमनु राईको छ। उनी घाइते छन् र फाइनलमा उत्रिने सम्भावना अत्यन्त कम छ। यदि जुमनु मैदान छिरेनन् भने पुलिसलाई उनको अभाव पक्कै पनि खड्किने नै छ।
पुलिस र थ्रीस्टारका सबैभन्दा प्रमुख शक्ति भनेका यी दुइ टोलीका प्रशिक्षक नै हुन् । दुवै टोलीका प्रशिक्षक खेल अध्ययन गर्न र तत्काल नया योजना बनाउन सक्षम मानीन्छन् । पुलिसका प्रशिक्षक विराटले बारम्बार यो कुरा पुष्टि गरिसकेका छन् भने थ्रीस्टारका अन्जनका लागि पनि आफूलाई पुष्टि गर्ने यो राम्रो अबसर हो ।
शुक्रबार भएको प्रिम्याच कन्फेरेन्समा पनि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले थ्रीस्टारमा अनुभवी खेलाडी भएकोले उसलाई केही एडभान्टेज भएको बताए। तर उनले पुलिसमा नयाँ र जुझारु खेलाडी भएकोले एक प्रतिशत माथि नै हुने दाबी गरे। उनले गेम अफ दि मिस्टेक र ब्रेन गेमको अर्को नाम नै फुटबल भएको भन्दै जसले गल्ती सुधार गर्छ उसले जित्ने र जसले गल्ती दोहो¥याउँछ ऊ पराजित हुने दाबी गरे।उनले आफूहरू पफर्मेन्स भन्दा पनि रिजल्ट ओरियण्टेड गेम खेल्ने बताए।
थ्रीस्टारका प्रशिक्षक अन्जन केसी पुलिस राम्रो टीम भए पनि आफ्नो टीममा अनुभवी खेलाडी भएकाले जीत आफ्नो पक्षमा आउने दाबी गरे।विराटकृष्णले एक प्रतिशत माथि हुने बताएलगत्तै अन्जनले पनि पुलिसविरुद्धको खेल ६०–४० को हुने दाबी गरे। तर उनले यो प्रतियोगिता लिगको तयारीको लागि भएको भने दोहो¥याए।
थ्रीस्टारका गोलकिपर किरण चेम्जोङले सेमिफाइनलमा पेनाल्टी सेभ गरेको कारण पनि राष्ट्रिय टीममा सँगै खेलेका पुलिसका खेलाडीलाई केही दबाब छ। उनले दुवै खेलमा गोल खाएका छैनन्। यस्तै पुलिसका गोलकिपर रितेश थापाले एक गोल खाएका छन् भने उनले विपक्षीका थुप्रै खतरनाक प्रहार सेभ गरेका छन्। तीन खेल खेलेका रितेश तीन सय छ मिनेट मैदानमा छाएका छन् भने दुई खेल खेलेका थ्रीस्टारका किरण एक सय ९६ मिनेट।बेस्ट गोलकिपरको दाबेदारमा दुवै छन्।
यस्तै बेस्ट फरवार्डको दाबेदारमा मनाङका अनिल गुरुङ, थ्रीस्टारका सन्तोष साहुखल, पुलिसका भरत शाह, मिडफिल्डको दाबेदारमा थ्रीस्टारका विक्रम लामा, विजय गुरुङ, एपीएफका हेमन गुरुङ, मनाङका विशाल राई र पुलिसका भोला सिलवाल, निरकुमार राई, बेस्ट डिफेण्डरको दाबेदारमा थ्रीस्टारका सन्दीप राई, सरोज दाहाल र सागर थापा, पुलिसका सुमन सुवेदी, रबिन श्रेष्ठ, मनाङका विराज महर्जन रहेका छन्।प्रशिक्षकमा विराटकृष्ण र अन्जनको नै दाबेदारिता छ। हाइस्कोररमा तीन गोल गरेका मनाङका अनिल गुरुङ अगाडि छन्। तर एक खेल बाँकी रहेकोले पुलिसबाट दुई गोल गरेका भरत शाह र जुमनु राईलाई मौका छ।बेस्ट प्लयेरको दाबेदारमा पुलिसका भरत शाह, रितेश थापा, थ्रीस्टारका गोलकिपर किरण चेम्जोङ, सन्दीप राई र विजय गुरुङ रहेका छन्।
१० खेलको समाप्तिमा हालसम्म एक हजार १० मिनेट खेलाइएको खेलमा २३ गोल भएको छ भने ३४ वटा एलो र तीनवटा रेड कार्ड वितरण भएका छन्। पेनाल्टीमा चार गोल भएको छ। एक पेनाल्टी मिस भएको छ। दुईवटा टाइब्रेकरमा १९ गोल भएको छ।गत वर्ष यो स्थितिमा नौ सय ८५ मिनेट खेल सञ्चालन भएकोमा २९ गोल भएको थियो। यस्तै ३४ एलो तथा दुईवटा रेडकार्ड वितरण भएका थिए। पोखराको उपाधिमा पुलिसले डबल ह्याट्रिक गर्छ कि थ्रीस्टारले चार बनाउँछ। त्यसको लागि मैदानमै खेल हेर्न जानैपर्ने हुन्छ।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर, बेस्ट कोच र हाइस्कोरलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।

Comment