थ्रीस्टार क्लब मनकामना केबलकार पोखरा कपको फाइनलमा

three star final
प्रेमनारायण न्यौपाने
पोखरा
गत वर्षको उपविजेता थ्रीस्टार क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को उपाधिनजिक पुगेको छ । उपाधिको लागि उसले शनिबार चिरप्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्नुपर्ने हुन्छ ।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबविरुद्ध १–० को कठिन जीत हात पार्दै  थ्रीस्टार क्लब पोखरा कपमा लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।
कप्तान सन्तोष साहुखलले पहिलो हाफको ३९ मिनेटमा पेनाल्टीमार्फत गरेको गोलले नै थ्रीस्टारको लागि जित हात पार्न पर्याप्त रह्यो । एपीएफका रक्षक आदित्य चौधरीले थ्रीस्टारका एल्बीसलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान सन्तोष साहुखलले सजिलै गोलमा परिणत गरेका थिए। पहिलो खेलको तुलनामा थ्रीस्टारले बिहीबारको खेलमा सुधारिएको प्रदर्शन गरेको थियो। उसको फरवार्ड, मिडफिल्ड र डिफेन्स लाइन मजबुत देखिएको थियो।
पहिलो हाफमै बराबरी गोल गर्ने अवसर पाएको एपीएफ पेनाल्टीमा चुकेपछि थ्रीस्टार भाग्यमानी बनेको थियो। दुई मिनेट थप गरिएको पहिलो हाफको इन्जुरी समयको अन्तिममा थ्रीस्टारका मिडफिल्डर विक्रम लामाले डिबक्सभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा कप्तान गणेश लावती चुके। उनको प्रहारलाई नेपाली राष्ट्रिय टीमका गोलकिपर म्यान अफ दी म्याच किरण चेम्जोङले पञ्च गरेर क्रसबारमाथिबाट फालिदिए।
यो प्रतियोगितामा ३–५–२ को रणनीति अपनाएको थ्रीस्टारले दोस्रो हाफमा पनि प्रशंसनीय प्रदर्शनलाई दोहो¥यायो। ५५ मिनेटमा एल्बीसको क्रसमा विजय गुरुङले खालीपोस्टमा गरेको कलेक्ट किक सेकेण्डबार हुँदै बाहिरियो।५८ मिनेटमा भिक्टोरको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले पञ्च गरेर असफल पारिदिए।६७ मिनेटमा एल्बीसको क्रसमा जगजीत श्रेष्ठको पावरफूल ग्राससुटलाई गोलकिपर अमृतले नै मुस्किलले बचाए।७१ मिनेटमा भिक्टोरको क्रसमा डिबक्सभित्रबाट हानेको सन्तोषको हेडिङ क्रसबारमाथिबाट गयो।८४ मिनेटमा जगजीतको शक्तिशाली प्रहारलाई एपीएफका गोलकिपर अमृतले पञ्च गरेर बाहिर फाले।
एपीएफको तर्फबाट ८७ मिनेटमा नवीन लामाले डिबक्सभित्रबाट हानेको पावरफूल ग्राससुट सेकेण्डबार हुँदै बाहिरियो। हेमन गुरुङको आधा दर्जन प्रहारलाई थ्रीस्टारका गोलकिपर किरणले असफल पारिदिए। चार मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एपीएफले बराबरी गोल गर्ने अर्को चान्स गुमायो। पाल्साङ लामाले डिबक्सभित्रबाट गरेको हेडिङलाई थ्रीस्टारका गोलकिपर किरण चेम्जोङले फस्टबारमै नियन्त्रणमा लिइदिए। केही समय ग्रासबल खेले पनि अग्ला कदका थ्रीस्टारका खेलाडीको सामु अधिकांश समय इयर बल खेल्न खोज्नु एपीएफको हारको अर्को कारण पनि बन्न पुग्यो। सो खेलमा एपीएफका आदित्य चौधरी र रञ्जन विष्ट तथा थ्रीस्टार क्लबका विजय गुरुङलाई फिफा रेफ्री श्रवण लामाले एलोकार्ड देखाएका थिए।
हारपछि एपीएफका टीम मेनेजर जिवेश पाण्डेले पहिलो हाफमा गरेको सानो गल्तीले पेनाल्टी गोल खानु र तत्कालै पाएको पेनाल्टीमा गोल फर्काउन नसक्नु नै हारको मुख्य कारण भएको प्रतिक्रिया दिए। इयर बल धेरै र ग्रासबल कम खेल्नु गल्ती स्वीकार्दै उनले भने–‘ केटाहरूले नराम्रो खेलेका होइनन् तर जुन स्ट्राटेजी अनुसार खेल्नुपर्ने हो त्यसरी नखेल्दा आज हाम्रो सबै प्लान फेल खायो।’ उनले फस्ट हाफमा थ्रीस्टारले पूरै प्रेसर दिएको बताए।एपीएफका प्रशिक्षक कृष्ण थापा भने पोस्ट म्याच कन्फेरेन्समा उपस्थित भएनन्।
जीतपछि थ्रीस्टारका प्रशिक्षक अञ्जन केसीले टीममा विस्तारै सुधार हुँदै आएको प्रतिक्रिया दिए। आफूहरूको टार्गेट नेशनल लिगप्रति भएको भन्दै उनले फस्ट म्याचभन्दा सेकेण्ड म्याचमा राम्रो इम्प्रुभ हुँदै गएको बताए। ‘फस्ट हाफमै म्याच किल हुनुपर्ने हो तर पाएको चान्समा गोल हुन नसकेपछि सेकेण्ड हाफमा अपोनेन्ट टीम हामीभन्दा अगाडि आयोे तर खेल जित्नु थियो जित्यौं’–उनको भनाइ थियो–‘खेलाडीको मेहनत र पुरानो अनुभवले पनि आज काम ग¥यो।’ नयाँ सिस्टमले राम्रो गरेको भन्दै उनले फाइनलमा पुलिसविरुद्ध छुट्टै रणनीति बनाएर खेल्न सक्ने बताए।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर, बेस्ट कोच र हाइस्कोरलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
शनिबार गत वर्षको उपविजेता टीम थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।
तस्बिर सौजन्य ः उमेस पुन

Comment