क्लब मोसिस र मदन भण्डारी विजयी

vetran cupक्लब मोसिस, जोरपाटी र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा क्लब मोसिसले मुख्य प्रायोजक नेपाल बैंकर्स एसोसिएन (एनबीए) को टिमलाई ३–० गोलले पराजित ग¥यो ।
राजु पुलामीले २ तथा विनोद पाण्डेले १ गोल गरे । राजु ‘म्यान अफ द म्याच’ चुनिए ।उनलाई नेपाली म्याराडोनाका उपनामले चिनिने चर्चित पूर्व फुटबलर मणिविक्रम शाहले ट्रफी प्रदान गरे ।
स्पोर्ट्स फर अल क्लब नेपालद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा एकेडेमीले हेटौंडाको चौघडा फुटबल टिमलाई ४–० गोलअन्तरले हरायो । ओमकृष्ण श्रेष्ठले २ तथा सरोज थापा र दिब्येश्वर मग्रातीले १–१ गोल गरे । ‘म्यान अफ द म्याच’ चुनिएका ओमलाई आयोजकका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुरले ट्रफी प्रदान गरे ।
विजेता दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा क्लब मोसिसले पुस २८ गते एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ । एकेडेमीले ब्वाइज युनियन क्लब विरुद्ध पुस २९ मा खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नाइट किङ्स क्लब भिड्ने छन् । दोश्रो खेल मनाङ मस्र्याङ्दी क्लब र ४० प्लस भेट्रान टिमबीच हुनेछ ।

Comment