कराते टोली अस्ट्रेलिया र अमेरिका जाँदै

अस्ट्रेलियाको सिडनी र अमेरिकाको लस भेगासमा हुने दुई छुट्टा छुट्टै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।अप्रिल ७ देखि ९ तारिखसम्म हुने अस्ट्रेलिया ओपन करातेको पुरुष ६० केजीमा विजय लामा र ७५ केजीमा श्याम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ६८ केजीमा सुस्मिता तामाङले नेपालको चुनौती पेश गर्नेछिन् ।
टिम व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ (बोस) र प्रशिक्षकमा जनकसिंह खड्का छन् । जनकले पुरुष ६७ केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै अप्रिल १२ देखि १६ तारिखसम्म हुने युएस ओपन करातेमा विजय र जनकसहित ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सुनील लामाले पनि खेल्नेछन् । हाल न्युयोर्कमा रहेका सुनीलले पुरुष ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ । रामकृष्णले टिम व्यवस्थापक र प्रशिक्षक दुवै भूमिका निर्वाह गर्नेछन् । टोली अप्रिल ११ तारिख अस्ट्रेलियाबाट लस भेगास जाने कार्यक्रम रहेको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एक कार्यक्रमबीच सिंहदरबारमा बिदाइ गरे ।टोलीलाई च्याम्पियन्स क्लबले पनि विदाइ गरेको  अध्यक्ष रमेस मगरले जानकारी गराए ।

Comment