मन्डे र निर्मला काता च्याम्पियन


नेपाल प्रहरीका मन्डेकाजी श्रेष्ठले गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिताको पुरुष एकल कातामा शनिबार स्वर्ण जितेका छन् । बौद्धस्थित महेन्द्र बौद्ध माविमा भएको प्रतिस्पर्धामा मन्डेले पूर्वाञ्चलका रोहित राईलाई पराजित गरे । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकल काताको स्वर्ण प्रहरीकै निर्मला तामाङले जितिन् । निर्मालाले त्रिभूवन आर्मी क्लबकी सन्जिता मगरलाई हराइन् ।
पुरुष र महिला टिम काता दुवैमा आर्मीले शीर्ष स्थान कब्जा ग¥यो । पुरुषमा प्रहरी र महिलामा पूर्वाञ्चल दोश्रो भए ।
पुरुषको ८४ केजीमाथि प्रहरीका बादल श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एपीएफका डिगम्बरप्रसाद पन्तको चुनौती समाप्त पारे । ५० केजीमा आर्मीका मणिकुमार सुनुवारले फाइनलमा प्रहरीका सोनाम लामालाई पाखा लगाउदै स्वर्ण हात पारे ।
महिलाको ४५ केजीमा आर्मीकी कुसुम थापा पहिलो भइन् । कुसुमले उपाधि भिडन्तमा प्रहरीकी कविता पौडेललाई निराश पारिन् । महिला ६५ केजीमाथिको फाइनलमा प्रहरीकी अनुपमा मगरले आयोजककी सोनिया मोक्तानलाई पन्छ्याउदै पहिलो स्थान हात पारिन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सांसद् रामेश्वर फुयाँलले संयुक्त रुपमा उद्घाटन गरे । तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टोली र आयोजकसहित ९ टिमका १ सय ९८ खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment