अमन स्मृति सेभेन–ए–साइडको प्रिक्वाटरफाइनल खेल सम्पन्न


पोखरा
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।जसअनुसार क्वीन गोर्खा सिग्नल, एलजी एशोसिएसन, संगम एफसी ए, नयाँगाउँ युथ क्लब, एयरपोर्ट युथ क्लब, लेकसाइड एफसी र संगम एफसी बी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा लेकसाइडले नयाँगल्ली एफसीलाई टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो। लेकसाइडका हेमन्त थापामगर र नयाँगल्लीका विनोद गुरुङले एक–एक गोल गरेपछि निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो। दोस्रो खेलमा नयाँगाउँ युथ क्लबले आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब बी लाई २–० ले हरायो। नयाँगाउँको लागि प्रदीप बानियाँ र राजकाजी गुरुङले एक–एक गोल गरेका थिए।
तेस्रो खेलमा क्वीन गोर्खा सिग्नलले युनिटी एफसीलाई २–१ ले पाखा लगायो। क्वीन गोर्खाका लागि विश्वास गुरुङ र निशान गुरुङले एक–एक गोल गरेका थिए भने युनिटीका अजित गुरुङले गरेको गोल सान्त्वनामा परिणत भयो।चौथो खेलमा एलजी एशोसिएसनले रिलिजन एफसीको चुनौती टाइब्रेकरमा ३–१ ले समाप्त पा¥यो। निर्धारित समयमा एलजीका अशोक गुरुङ र रिलिजनका विश्वास नेवारले एक–एक गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
पाँचौं खेलमा संगम युथ क्लब ए ले सत्य युवा क्लब बि–१३ लाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। छैटौं खेलमा संगम युथ क्लब बी ले पाटन युनाइटेडलाई २–० ले पराजित ग¥यो। संगम बी को लागि लावल गुरुङ र भिक्टोर अमोबीले एक–एक गोल गरेका थिएर
सातौं खेलमा एयरपोर्ट युथ क्लबले काजीपोखरी युथ क्लबलाई १–० ले पराजित ग¥यो। एयरपोर्टको लागि रामु परियारले निर्णायक गोल गरेका थिए। आठौं खेलमा आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब ए ले एलजी एकतालाई २–० ले हरायो। पोखराभ्याली ए को तर्फबाट दुवै गोल विजय गुरुङले गरेका थिए। शुक्रबार क्वाटरफाइनलका खेल हुने क्लबका सदस्य विकास गुरुङले जानकारी दिए। पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा युकेको तीन टीमसहित २९ टीमको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर, हाइस्कोरर र फेयर प्ले टीमलाई जनही पाँच हजार तथा ट्रफी प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
छ लाख ५० हजार खर्च हुने तथा आठ लाख आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मा गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने छ। शुक्रबार बिहान ११ बजे टोल विकास संस्था समन्वय समिति वडा नं. १० र टोल विकास संस्था समन्वय समिति वडा नं. १५ लक्ष्मीमन्दिर आमा समूहबीच महिलाको मैत्रीपूर्ण खेल हुने क्लबका सचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिए।

Comment