आईओएफटीसीद्वारा तेक्वान्दो खेलाडी पुरस्कृत


अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ । पोर्टल्यान्डमा गत अक्टोबर १४ देखि १५ तारिखसम्म भएको उक्त प्रतियोगिताका लागि छनोट भएर पनि भिसाका कारण सहभागिता जनाउन असमर्थ खेलाडीलाई आईओएफटीसीले पूर्व घोषणा गरे अनुसारको नगद पुरस्कार प्रदान गरेको हो । २०७२ सालको मंसिर ५ गते लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रथम राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगितामा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका थिए ।
पुरुषको ६८ केजीमुनि प्रेमबहादुर नेपाली, ८० केजीमुनि रजिन सिंह र ५८ केजीमुनि माधव तिमल्सिना छानिएका थिए । महिलाको ४७ केजीमुनि पार्वती पाण्डे र ५३ केजीमुनि रञ्जना थापा छनोट भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले खेलाडीलाई जनही १ लाख रुपैयाँ र प्रशंसा पत्र प्रदान गरे । पार्वती भने परीक्षाका कारण कार्यक्रममा उपस्थित भइनन् ।
सोही अवसरमा रियो ओलम्पिक– २०१६ मा सहभागी भइ उत्कृष्ट प्रदर्शन गरेको भन्दै तेक्वान्दो खेलाडी निशा रावललाई पनि नगदसहित सम्मान गरिएको थियो । आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले उपलब्ध गराएको ५० हजार नगद उपाध्यक्ष शेर्पाले निशालाई हस्तान्तरण गरे ।त्यस्तै पोर्टल्यान्डको प्रतियोगितामा भिसाकै कारण सहभागिता नजनाएका टिम प्रशिक्षक अष्टबहादुर महर्जन र व्यवस्थापक अर्जुनभक्त राई पनि प्रशंसा पत्रबाट सम्मानित भए । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शेर्पाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दोको विकास र विस्तारमा निरन्तर सक्रिय रहेकोमा आईओएफटीसीलाई धन्यवाद दिदै सन् २०२० को ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले तेक्वान्दो खेललाई विशेष प्राथमिकतामा राखेको बताए ।
आईओएफटीसीका बोर्ड डाइरेक्टर राष्ट्रकुमार राईले भिसाका कारण खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाउनु खेल जीवनको अन्त्य नभएको बताउदै यसबाट निराश नभइ आफ्नो खेलमा ध्यान केन्द्रीत गर्न खेलाडीलाई सुझाए ।

Comment