विमला सहित ३७ खेलाडी छानिए , नबीन र मनिष पनि टोलीमा

karatee
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदको करातेतर्फ एकल कातामा कांस्य जितेकी विमल तामाङसहित ३७ खेलाडी तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि शनिबार छनोट भएका छन् । सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँ दिल्लीमा हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन् । छनोटमा नेपाली खेलकुदकै पायनियर शक्ति मानीने बालाजु कराते एकेडेमीको प्रभाव रहेको थियो । छनोट हुनेमा पछिल्लो पुस्ताका प्रतिभासाली खेलाडी मनीष थापा र नबीन रसाइली समेत रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य फत्तबहादुर गुरुङ संयोजक रहेको छनोट समितिले आयोजना गरेको प्रतियोगिताको सिनियर महिला एकल काताको फाइनलमा बालाजु डोजोकी विमलले सुदूरपश्चिमाञ्चलकी बर्षा साउदसाधुलाई पाखा लगाइन् । महिला टिम कातामा बालाजु डोजोकै विमलासहित कृपा गुरुङ र सुनिभा श्रेष्ठ छनोट भए ।
सातदोबाटोमा भएको प्रतियोगिताको सिनियर महिला ४५ केजीमा सुदूरपश्चिमाञ्चलकी बर्षा साउद, ६१ केजीमा वादोकाइकी  रुपा महर्जन, ५५ केजीमा पूर्वाञ्चलकी अस्ता राई तथा ५० केजीमा मध्यमाञ्चलकी एलिना विक पहिलो हुँदै छनोट भए ।
सिनियर पुरुषको ५० केजीमा बालाजुका मनीष थापा, ६० केजीमा बालाजुका राजकुमार रसाइली, ६७ केजीमा बालाजुकै नवीन रसाइली, ७५ केजीमा पश्चिमाञ्चलका चन्द्र बुढा, ६८ केजीमा पूर्वाञ्चलका रोशन धामी तथा ८४ केजीमा बुढानकीलकण्ठका अविनाश चौधरी छानिए । सिनियर पुरुष एकल कातामा सुदूपश्चिमाञ्चलका ललित खत्री तथा टिम कातामा पश्चिमाञ्चलका चन्द्र बुढा, निर्मल पुन र सुमन पाइजा छनोट हुन सफल भए ।
एकदिने छनोट प्रतियोगितामा २ सय ७ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेको संयोजक गुरुङले जनाएका छन् । दक्षिण एसियाली कराते सेप्टेम्बर २२ देखि २६ तारिखसम्म हुनेछ ।

Comment