इरा र प्रेरणा फाइनलमा
पेनउडकी इरा रावत र आइडियलकी प्रेरणा कोइराला नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।हातीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा भएको सेमिफाइनलमा इराले सेन्ट जेभियर्सकी अभिलाषा विष्टलाई ६–१ र ६–२ तथा प्रेरणाले एलएकी सलोनी तामाङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।
यु–१६ गल्र्स सिंगल्समा द ब्रिटिस स्कुलकी माहिका राणाले ब्रिटिसकै क्याथ्रिन माथेमालाई ७–५ र ६–०, ब्रिटिसकी एनी माथेमाले युलेन्सकी मेधावी गिरीलाई ६–१ र ६–०, ब्रिटिसकी मायांका राणाले ब्रिटिसकै खुशी पाण्डेलाई ६–२ र ६–३ तथा पेनउडकी इरा रावतले आइडियलकी प्रेरणा कोइरालालाई ६–३ र ६–२ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१२ गल्र्स सिंगल्समा विभय संस्कारकी रायना शाहले शुभताराकी लुमु लामालाई ६–० र ६–०, एलएकी सलोनी तामाङले न्यु लिराकी मन्दिरा आले मगरलाई ६–० र ६–०, सेन्ट जेभियर्सकी इशाश्री शाहले इलिम किड्स एकेडेमीकी शिरिस्था राईलाई ६–३ र ६–२ तथा एलएकी शुभाङ्गीलक्ष्मी शाहले जोन डेवीकी आइशा डोल्कर गुरुङलाई ६–१ र ६–४ को सोझो सेट पाखा लगाए । विजेता चारै सेमिफाइनलमा पुग्न सफल भए ।
सोही स्पर्धाको ब्वाइजमा सेन्ट जेभियर्सका अदित सुवेदीले नेपाल प्रहरी स्कुलका निश्चल अधिकारीमाथि ६–० र ६–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरे ।