निशालाई मैत्रीको बधाई तथा सम्मान

nisha rawale
मैत्री तेक्वान्दो डोजाङले ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगष्टसम हुने ३१ औं ग्रिष्मकालिन ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएकी तेक्वान्दोकी निशा रावललाई बधाई दिदै सम्मान गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले रावललाई सम्मान पत्र प्रदान गरेका थिए । निशाले ब्लु वेल्टबाट मैत्री तेक्वान्दो डोजाङबाट खेल्न सुरु गरेकी थिइन् । राष्ट्रिय टिमकी सदस्य निशा हाल त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन् ।
घरेलु स्पर्धामा ७३ केजीमाथिको तोलसमूहमा भिड्दै आएकी २० वर्षीया निशाले ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । सम्मानीत भएपछि रावलले सबैको साथ र सहयोगले ओलम्पिकसम्म पुग्न सफल भएको बताउदै मैत्रीप्रति  आभार व्यक्त गरिन् । निशाले सम्मानले हौसला मिलेको र आगामी दिनमा पनि सबैको साथ र सहयोग आवश्यक रहने बताइन् ।
सम्मान कार्यक्रमका अवसरमा मैत्री तेक्वान्दो डोजाङले निकालेको ‘निशा रावलः मैत्रीदेखि ओलम्पिकसम्म’ नामक लिफलेट एनओसीका उपाध्यक्ष लाखेले सार्वजनिक गरेका थिए । सो लिफलेटमा निशा रावलको तेक्वान्दो यात्राको विषयमा जानकारी समावेश गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनओसी उपाध्यक्ष लाखेले सम्मानले निशालाई देशका लागि केहि गरेर देखाउन प्रेरणा र उर्जा मिल्ने बताए । ‘निशाले उत्कृष्ट पदर्शन गर्दै नेपाल मार्शलआर्ट खेलाडीको देश भनेर चिनाउने छिन् भन्ने विश्वास छ ।’– उनले भने ।
यूयूएनटीएफ नेपाल च्याप्टरका अध्यक्ष नोर्वु लामाले निशालाई शुभकामना दिदै विश्वको ठूलो खेल मेला ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनु खेलाडीका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे ।
मैत्री तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक अष्टबहादुर महर्जनले मैत्रीकी खेलाडी ओलम्पिकसम्म पुग्नु गर्वको कुरा भएको बताए । कार्यक्रममा तेक्वान्दो खेलाडी नेहा लामाले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा मैत्रीका संस्थापक सल्लाहकार केदार महर्जन, सल्लाहकार रमेश श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक कृष्ण सिंह, प्रशिक्षक अर्जुनभक्त राई, तेक्वान्दोसम्बन्धी चलचित्र रिलेशनका निर्देशक दीपेन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो ।

Comment