उत्पन्न र सर्मिलालाई स्वर्ण

bahiratte
उपत्यकाव्यापी बहिरा टेबलटेनिस प्रतियोगितामा उत्पन्न महर्जन र सर्मिला डंगोलले बुधबार स्वर्ण जितेका छन् । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा उत्पन्नले दिनेश महर्जनलाई ३–२ ले पराजित गरे । विवेक बस्नेत र आनन्द मानन्धर संयुक्त रुपमा तेश्रो भए ।
महिला सिंगल्स फाइनलमा सर्मिलाले पूजा गुरुङलाई ३–० ले हराइन् । फुर्पु तामाङ र विष्णुमाया महर्जन तेश्रो बने ।
विजेतालाई राखेप सदस्य नारायण पौडेल, आयोजक कमिटीका अध्यक्ष दीपक कोइराला, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेलगायतले पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा पुरुष÷महिला सिंगल्समा मात्र प्रतिस्पर्धा भएको थियो । पुरुषमा १५ र महिलामा १४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।

Comment