वीर गणेशमान स्मृति ह्याण्डबलको सम्पूर्ण तयारी पुरा

जन आन्दोलनका सर्वोच्च कमाण्डर एवं प्रजातन्त्रका पिता लौह पुरुष वीर गणेशमान सिंहको संझनामा सदावहार खेलकुद समाजले आयोजना गर्न लागेको “प्रथम वीर गणेशमान सिंह स्मृती महिला तथा पुरुष राष्ट्रिय खुला ह्याण्डबल प्रतियोगिता” को सम्पूपर्ण तयारी पुरा भएको छ ।
प्रमुख अतिथी पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगितामा पुरुष तर्फ नेपाली सेना, सशस्त्र प्रहरी बल, पश्चिमाञ्चल, मध्यमाञ्चल, आयोजक सदावहार खेलकुद समाज र बुढानिलकण्ठ नगर ह्याण्डबल टिम गरि ६ तथा महिला तर्फ नेपाली सेना, सशस्त्र प्रहरी बल, मध्यमाञ्चल ए र बि गरि ४ टिमको सहभागिता रहने संयोजक एवं काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर “बद्री” भट्टराईले जानकारी गराए ।
कपनस्थित ह्याण्डबल मैदानमा बिहिबार देखि तीन दिन सम्म संचालन हुने प्रतियोगितामा विजयी तथा उपविजयी टोलीले क्रमशः २५ हजार र १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र शिल्ड प्राप्त गर्नेछन् । करिव ९ लाख ८० हजारको लागत रहेको प्रतियोगिताको सर्वाधिक गोल कर्ता, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट विङ्गगर, सर्वोत्कृष्ट रक्षक र सर्वोत्कृष्ट नाईन मिटर प्रत्येकलाई नगद २÷२ हजार प्रदान गरिने आयोजक सदस्य राजु बिक्रम थापाले बताए ।
प्रतियोगिताको दौरान नेपाल ह्याण्डबल संघका पूर्व महासचिव एवं खेलाडी विश्व बम मल्ल र कोषाध्यक्ष मिठाराम अधिकारीलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।
प्रतियोगितामा जिल्लाबाट सहभागिता जनाउन आएका टिमलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था आयोजकले गरेको समेत संयोजक भट्टराईले बताए ।

Comment