ह्यान्डबल सङ्घको विरोधाभास

नेपाली महिला ह्यान्डबल टोलीकी रञ्जना राई सायद नेपाली टोलीलाई सबै भन्दा धेरै सफलता दिलाउने महिला टोलीकी कप्तान मध्येकी एक भएकोमा विवाद हुन सक्दैन । उदयपुरकी उनी अहिले बेलटारस्थित आफ्नै निकासमा छिन् र नेपाली ह्यान्डबल वृत्तबाट धेरै टाढा छिन् । 

उनको केही दिन अघिको स्ट्याटसबाट उब्जिएको विवादले नयाँ प्रश्नहरू तेर्साएको छ । रञ्जनाको स्ट्याटस र त्यस पछि आएको समाचारका विषयले ह्यान्डबल संघले विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा आसन्न १९ औ एसियाडका लामो सुची पेस सर्दा नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आधार मानिएको जनाइएको छ । 

गत वर्ष घोषित एसियाली खेलकुद आयोजक देश चीनले कोरोनाका कारण एक वर्ष ढिलो सारेको हो । त्यसै समयमा निर्धारित कार्यक्रममा छनोटको मापदण्ड एकै पटक लामो सुची तयार गर्दा सूचना जारी गर्ने ह्यान्डबल सङ्घको गैर जिम्मेवारी या बदनियत भन्ने प्रश्न अहिले उब्जिएको छ  । यस अघि ह्यान्डबल संघले आफ्नो वेभ साइटमा या समाचार कुनै माध्यम मार्फत छनोट प्रक्रिया प्रस्ट गरेको प्रमाण पेस गरेको छैन । एक वर्ष अघि नै मिति तय प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदलाई आधार मान्ने भन्ने कुरा नवौँ राष्ट्रिय खेलकुद अघि या पछि तय गर्ने हो ? यो एउटा गम्भीर प्रश्न हो ।  

संघले सो कुरा जनाए पनि एक खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी नभए पनि अहिले बन्द प्रशिक्षणमा रहेको प्रस्ट छ । कसलाई स्वीकार गर्ने या नगर्ने भन्ने प्रस्ट क्राइटेरिया त्यस अघि तय भएको आधार या कुनै कार्य समितिको माइन्युट ह्यान्डबल संघले उपलब्ध गराउन सकेको छैन ।

नेपाल ह्यान्डबल संघले रञ्जनाको नाम प्रशिक्षकको रूपमा यस अघि नै दर्ता गरेको जनाएको छ । तथापि रञ्जनालाई नै यस कुराको जानकारी नदिइएको उनको स्ट्याटसमा उल्लेख छ । 

तेज गुरुङको अध्यक्षतामा रहेको नेपाल ह्यान्डबल सङ्घ राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्दै विश्व बम मल्लको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको छ । तथापि अन्तर्राष्ट्रिय निकायले गुरुङलाई नै स्वीकार गरेको छ । दुवै सङ्घका महासचिव सन्देश रेग्मी छन् । उनले गुरुङ नेतृत्वको महासचिवको रूपमा अन्तर्राष्ट्रिय पत्राचार गरेका छन् भने मल्ल नेतृत्वको महासचिवको रूपमा विज्ञप्ति जारी गरेका छन् । मल्ल नेतृत्वको लेटर प्याड प्रयोग गर्दै गुरुङ नेतृत्वको महासचिवको रूपमा गरेको कामको जिम्मा लिन मिल्छ या मिल्दैन ? 

राखेपमा जागिरे रञ्जना आफूलाई अब्बल प्रशिक्षक बनाउने क्रममा बेरोजगार भएकी हुन् । उनले भारतको पटियालाबाट एनआइएस कोर्स गर्ने समयमा जागिर छाडेकी थिइन् । रोजगार व्यक्ति योग्यता वृद्धि गर्ने क्रममा बेरोजगार भएको नेपाली खेलकुदको दुखद दृष्टान्त समेत उनी नै बनेकी छिन् । 

Comment