सागमा पदक जित्ने ललितपुरका कराते खेलाडी सम्मानित

karate lalitpur1
ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा विभिन्न पदक जित्न सफल ललितपुरका कराते खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन ।आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए । त्यस्तै ११ औंका क्रमशः स्वर्ण र रजत विजेता विनोद शाक्य र विनोद महर्जन तथा १० औंकी रजत विजेता अमृता शाक्यलाई पनि सम्मान गरियो ।
दोहोरो स्वर्ण विजेतालाई २० हजार, स्वर्णलाई १० हजार र रजतलाई ५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा ललितपुरकै पूर्व खेलाडी तथा प्रशिक्षकहरु महेश जोशी, पुरेन्द्रविक्रम लाखे, गोपाल महर्जन, निवासगोपाल वैद्य, हीरासिंह डंगोल, मनोज न्याछ्यों, मीनकृष्ण महर्जन, नारायणदेव राणा तथा दिलेन्द्रगोविन्द वैद्य पनि सम्मानित भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको बताउदै युवाहरुलाई कुलतबाट टाढा राख्न खेलकुद एक उपयुक्त माध्यम भएको धारणा व्यक्त गरे ।
देउवाले खेलकुदलाई छुटाएको बजेट कुल बजेटको एक प्रतिशत नहुनुले सरकारले खेलकुदलाई बेवास्ता गरेको बताउदै यस विषयमा आफूले सरकारको ध्यानाकर्षण गराउने बताए ।

Comment