घन्टाघर डोजो च्याम्पियन

ghantaghar dojoe
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो घन्टाघरले दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपालको घन्टाघर डोजोले सर्वाधिक ८ स्वर्ण जित्यो । घन्टाघरबाट अर्जुन डंगोल, रोशन बलामी, अर्जुनकुमार चन्द, एलिसा लामा, निमा लामा, एलिसा तामाङ, मोनिका योञ्जन तथा प्रवीण खत्री क्षेत्रीले स्वर्ण जिते ।
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो ठमेलद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भारत दोश्रो भयो । १ रजत र ३ कांस्यसाथ बंगलादेशले तेश्रो स्थानमा चित्त बुझायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा एलिस्ता सुवेदी उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । दुवैले टेली टकद्वारा प्रायोजित कलर्स मोबाइल सेट प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, डिआईजी सुदीप आचार्य, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा नेपालका २५०, भारतका ६० र बंगलादेशका ४ खेलाडी सहभागी थिए ।

Comment