सिमोनलाई कांस्यपदक

Manoj Shiama
3 May, 2016 10:55 pm

जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कांस्य पदक जितेका छन् । अप्रिल ३० तारिखमा भएको प्रतियोगिताको खुला तौल समूहमा सिमोनले कांस्य जितेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा टाडाको देशबाट सहभागी हुने सिमोन एक्लो खेलाडीहुन् ।khatrie
सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाइ फिलिपिन्सबाटै अर्को प्रतियोगितामा सहभागी हुन जर्मनी गएका थिए । अप्रिल २३ देखि २४ तारिखसम्म फिलिपिन्समा भएको प्रतियोगिताको खुला तौल समूहमा भने सिमोनले रजत हात पारेका थिए । सिमोन २०११ मा भारतमा भएको चौथो दक्षिण एसियाली वादोरियो कराते प्रतियोगिताका स्वर्ण विजेता हुन् । २०१३ मा भारतमै भएको पाँचौं संस्करणमा पनि सिमोनले पहिलो स्थान हात पारेका थिए । त्यस्तै २०१४ मा श्रीलंकामा भएको अन्तर्राष्ट्रिय वादोरियो कराते तथा २०१२ मा मलेसियामा भएको १० औ ंअन्तर्राष्ट्रिय खुला करातेमा पनि स्वर्ण हात पारेका थिए ।
काठमाडौं जिल्ला वादोरियो कराते संघ, नेपाल वादोरियो कराते डो संघ, ब्ल्याक वेल्ट कमिटी तथा कान्तिपुर यातायात व्यवसायी संघले एक कार्यक्रमबीच सिमोनलाई मंगलबार स्वागत गरे । नेपाल कराते महासंघ महासचिव एवं वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडी लगायतले सिमोनलाई स्वागत गरे । सिमोन सोमबार राती स्वदेश फकिएका हुन् ।
कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ र वादोरियो प्रशिक्षक सूर्य राईलाई सम्मान गरिएको थियो ।