कालिका माविलाई उपाधि

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा सम्पन्न ‘दोस्रो गाउँपालिका स्तरीय कराते प्रतियोगिता’मा कालिका माध्यमिक विद्यालय, रिस्ठे प्रथम भएको छ । प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र १३ कांस्य पदक जित्दै कालिका माविले शीर्ष स्थान हासिल गरेको हो । त्यस्तै ८ स्वर्ण, ७ रजत र ७ कांस्य पदकसहित कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर द्वितीय भएको छ भने ७ स्वर्ण, ३ रजत र ८ कांस्य पदक प्राप्त गरी सेतीदेवी माध्यमिक विद्यालय गुन्साल तृतीय बनेको छ ।
प्रतियोगितामा सहभागी अन्य विद्यालयमध्ये सञ्जीवनी मावि र काकलिङ माविले समान १ रजत र २ कांस्य पदक हात पारेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ असोज २२ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो । स्थानीय तहमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । आईडब्लुएफएन कराते शाखा डोजो र श्री कालिका माध्यमिक विद्यालयको आयोजना तथा दोरम्बा वादो कराते डोजोको सह-आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद गजुरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रम गरिएको थियो। कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष टीकाप्रसाद गौतम, गाउँपालिका शिक्षा शाखा प्रमुख नेत्र गौतम, आईडब्लुएफएनका मुख्य प्रशिक्षक बुद्धराज नागी, कालिका माविका प्रधानाध्यापक यनप्रसाद ढुङ्गेल तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
सह-आयोजक दोरम्बा वादो कराते डोजोका प्रशिक्षक, आईडब्लुएफएन कराते डो सङ्घका केन्द्रीय सदस्य, राष्ट्रिय रेफ्री एवं ५ औँ डान ज्ञानबहादुर थापामगरका अनुसार दोरम्बा सैलुङमा २०७४ सालदेखि निरन्तर रूपमा आईडब्लुएफएन कराते डोजो सञ्चालन हुँदै आएको छ । यस क्षेत्रका खेलाडीहरूले प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत सहभागिता जनाएर राम्रो प्रदर्शन गरिसकेको उनले जानकारी दिए । यस किसिमको प्रतियोगिताले स्थानीय स्तरका खेलाडीको प्रतिभा उजागर गर्नुका साथै कराते खेलको प्रवर्द्धन र खेलकुदप्रति युवा तथा विद्यार्थीको आकर्षण बढाउन ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
