उज्बेकिस्तानसँग टाईब्रेकरमा नेपालको हार

नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाई ब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो । लिग चरणमा अङ्क र गोल पनि बराबर भए पछि पहिलो स्थानको टुङ्गो टाईब्रेकरबाट लागेको हो ।
समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो ।
नेपालका लागि टाई ब्रेकरमा गीता राना र सबिता राना मगरले गोल गरे । कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना राना मगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गरेको खेलको ११औँ मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनाएको थियो । उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।
नेपालका लागि २४औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरिन् । डिबक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको हो ।
३८औँ मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पाएको थियो । जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड भए पछि शोएमोभले पेनाल्टीको उपयोग गरिन् ।
दोस्रो हाफमा १० खेलाडीमा सीमित उज्बेकिस्तानविरुद्ध नेपाल खेलमा फर्किएको हो । उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् ।
७१औँ मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् भने त्यसको दुई मिनेटपछि नै उनले ह्याट्रिक पुरा गरिन् ।