लक्ष्मी अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पहिलो महिला नेपाली रेफ्री

नेपालकी लक्ष्मी भट्ट अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पहिलो महिला नेपाली रेफ्री भएकी छिन् । नेपालमा पनि दर्जनौँ खेलमा रेफ्रिको भूमिका निर्वाह गरेकी लक्ष्मी लामो समय नेपालको राष्ट्रिय टोलीमा समेत रहेकी थिइन् । न्यु साउथ वेल्स प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गरेकी लक्ष्मीले उनले सन् २०२२ मा भएको अस्ट्रेलियन ओपनमा कास्य पदक जितेकी थिइन् ।

च्याम्पियनसिपमा नेपालका दिवस श्रेष्ठले स्वर्ण पदक जिते । उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।

दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते । दिवसले घरेलु भूमिमा यसअघि सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेका थिए ।

यस्तै नेपालले थप चार कांस्य पदक जितेको छ । ६७ केजीमुनिको तौल समूहमा नवीन रसाइली र राजीव पुडासैनीले कांस्य जिते । नवीन १३औँ सागका स्वर्ण पदक विजेता हुन् भने राजीव सागका कांस्य पदक विजेता खेलाडी हुन् ।

६० केजीमुनिको तौल समूहमा मनिस थापा क्षेत्रीले कांस्य जिते । महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा मालिका थापा क्षेत्रीले कांस्य जितिन् । 

Comment