चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधवार सुरु भयो । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः ः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।
छनोट खेलको बाग्मती प्रदेशका खानेपानी ,उर्चा तथा सिचाई मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु र नारायण गमाल तथा काठमाडौ जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष नारायण श्रेष्ठ लगायतको उपस्थिति थियो । नेपाल बुद्धीचल संघका केन्द्रिय सल्लाहकार तथा चेसका अन्तराष्ट्रिय आयोजक सुबोधराज सेर्पालीको पनि कार्यक्रममा उपस्थिति थियो ।
पहिलो चरणमा शीर्ष बरीयताका खेलाडी रुपेस जयसवाल र निकेन कुसाथा बिचको खेल बराबरीमा सकियो । यसै गरी फिडे मास्टर क्षितिज भण्डारीले प्रकाश नेपाललाई हराए । अर्को खेलमा सुरवीर लामाले सजिन मर्हजनसंगको खलमा जित हात पारे । मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुशील चौधरीलाई हराए ।
महिला तर्फको खेलमा कृत्तीसरा अधिकारीले खुसबु थापा, शान्ति धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानेले पूर्णिमा गुरुङलाई हराए । यसै गरी विनीता कपालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दीरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन् ।दोस्रो चरणको खेल जारी छ ।
Comment