निशान्त र सुनिताले जिते उपाधी

Manoj Shiama
25 February, 2018 6:33 am

प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक बिद्यालयकी सुनिता श्रेष्ठले तेश्रो महर्षि म्याराथन २०७४ को उपाधी जितेका छन् । निशान्तले म्याराथन अन्तरगतको ५ कि.मि दौड १६.२४ मिनटमा पुरा गर्दै प्रथम स्थान हात पारेका हुन् । यस्तै मलिला तर्फ सुनिताले उक्त दूरी १९.५० मिनटमा टुङ्गयाउंदै स्वर्ण हात पारिन् ।
सामाखुसीस्थित महर्षि विद्यालयको बार्षिकोत्सवको उपलक्षमा आयोजना गरिएको प्रतियोगिताको पुरुष तर्फ न्यूटन स्कुलका रिचार्ड तामाङ्ग र न्यू हिमालयन स्कुलका संगम बिष्ट द्वितीय र तृतीय भए । तामाङ्गले उक्त दूरी १६.२५ र बिष्टले १७.३५ मिनटमा पुरा गरे ।
महिला तर्फ विजेश्वरीकै स्वेक्षा बलामी मगर र कुशलता तामाङ्गले २०.२५ र २०.४२ मिनटका साथ दोश्रो र तेश्रो स्थान हात पारे ।
स्कुलका अध्यक्ष एवं गोरखा क्षैत्र नं. २ ख का विजयी साँसद प्रकाश चन्द्र दवाडीले उद्घाटन गरेको प्रतियोगिताका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद ७, ५ र ३ हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
विद्यार्थीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आईरहेको स्कुलका अध्यक्ष एवं सांसद प्रकाश चन्द्र दवाडीले बताए । म्याराथनमा २० बिद्यालयका ३०० खेलडीहरुले सहभागिता जनाएका थिए ।