त्यसैले यो हल्लैहल्लाको देश…

-मनोज घिमिरे

सन् २०१२ मा स्पेनले युरोकप फुटबलको उपाधि रक्षा गरेपछि टोलीको सर्बत्र स्वागत गरियो । स्वागत कार्यक्रममा बोल्दै टोलीका महत्त्वपूर्ण खेलाडी जाभीले भने, ‘स्पेन अहिले आर्थिक मन्दीमा छ । देशको अर्थ व्यवस्था बिग्रिएको छ । हाम्रो उपाधिले ती सबै समस्याको समाधान गर्दैन । फगत यत्ति हो अबका केही दिन स्पेनिस नागरिक यो खुसीयालीमा आर्थिक संकटलाई बिसर्ने छन् र हामीलाई साथ दिने छन् । पीडाबाट दिर्घकालीन मुक्ती त राज्यले आर्थिक सुधारबाट नै गर्नुपर्छ ।’
नेपाली क्रिकेटले बंगलादेशमा सम्पन्न ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर फर्किएको छ । जुन प्रदर्शन सम्मनयोग्य पनि छ । यसले नेपाली नागरिकमा एक खाले खुसीयाली छाएको छ । तर, क्रिकेटको नाममा पछिल्ला समय भएका केही अनावश्यक विवाद भए । यो विवादमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापादेखि माओवादी नेता सिपी गजुरेलसहित पत्रकार ऋषि धमलासम्म तानिए । मानौं यस्तो अवस्था आयो कि कुनै क्रिकेट समीक्षकले क्रिकेटको समीक्षा गर्दा ९० प्रतिसत सकारात्मक र १० प्रतिसत नकारात्मक कुरा राख्यो भने क्रिकेटप्रेमीको एउटा हुलले १० प्रतिसत नकारात्मक कुरा राखेकै कारण आक्रमण गर्ने हुन् ।
नेपाली समाजको एउटा परम्परा छ, व्यगात्मक रुपमा भन्ने गरिन्छ, ‘नेपालीहरुलाई आफ्नो क्षेत्रको बाहेक अन्य सबै क्षेत्रको कुरा थाहा हुन्छ ।’ सबै नेपाली लाग्छन्, अहिले क्रिकेटविज्ञ भएका छन् । समाचारका पानाहरुमा ऐतिहासिक र सर्वोत्कृष्ट शब्द यत्रतत्र प्रयोग भएको छ । यी दुवै शब्द सापेक्षिक शब्द हुन् । यी शब्दको प्रयोग सबै सरोकारवाला विषयको ज्ञान नभई गर्नु हुन्छ कि हुँदैन ?
एउटा सफलतामा रमाएर पागल हुने र एउटा असफलतामा दु:खी भएर पागल हुने नेपाली परम्परा चिया पसलदेखि भट्टी हुँदै सामाजिक र राजनीतिक नेतृत्वले देखाएका छन् । उल्लेखित तीन विवादतर्फ नै जाऔं । कुनै व्यक्तिको पहिलो काम भनेको आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो । यदी त्यसो हो भने देशको उन्नती यसैमा हो । क्रिकेट खेलाडीले राम्रो खेले, उनीहरुको काम गरे । तर, यसको मतलब अन्यको जिम्मेवारी क्रिकेट नै हुनु पर्छ भन्ने होइन । गणेश थापा फुटबल संघका अध्यक्ष हुन् । उनले फुटबलबारे वकालत गर्नै पर्छ । सत्य यो पनि हो कि फुटबल संसारमा र नेपालमा सबैभन्दा लोकप्रिय खेल हो । संसारका सबै देशले प्राथमिकतामा राखेको यो खेलले नेपाललाई दिलाएको सफलता या असफलतालाई यसैको सन्दर्भमा हेर्नु पर्छ । क्रिकेटले सफलता दिलाइरहँदा नेपाली चलीले यु–१४ रिजनल च्याम्पियनसिप फुटबल प्रतियोगितामा पनि उत्तिकै सानदर प्रदर्शन गरिरहेका थिए । यो छायाँमा पर्‍यो । कुनै समय सिंगो देश क्रिकेटमा रमाइरहेको समयमा नेपालले साफ च्याम्पिनसिप महिला फुटबल प्रतियोगिातमा फाइनलको यात्रा तय गरेको घटना पनि छाँयामा परेको थियो । चाहना बम्जनले विश्व जुनियर उसु च्याम्पिनसिपमा प्राप्त गरेको पदक पनि छाँयामा पर्‍यो । प्रसंग थापाकै, यदी उनले फुटबलको वकालत गरिहन्छन् भने सबैले उनीबाट पाठ सिक्नु पर्छ । उनको खुलम्खुला प्रशंसा गर्ने हिम्मत राख्र्दै भन्नै पर्छ, ‘अन्त जेसुकै होस् मेरो फुटबल मेरा लागि सबैभन्दा प्रिय हो भन्ने गणेश थापाजस्तो आफ्नो खेलमा प्रतिबद्ध व्यक्ति हरेक खेलमा चाहिन्छ । अन्यको प्रशंसामा मात्र रमाएर आफ्नो अकर्मण्यता लुकाउने संघ अध्यक्षको खाँचो छैन ।’
प्रसंग गजुरलेको पनि हो । क्रिकेट खेलको सफलतामा नेपाली केही रमाउने हो । तर, यस पछिका दिन त नेपालीको काम गरिबीसँग संघर्ष गर्ने नै हो । राज्यको काम त जाजरकोटमा वर्षेनी झाडा पखालबाट मर्नेको संख्यामा कमी ल्याउने हो । सडक दुर्घटनाबाट मर्नेको संख्यामा कमी ल्याउने हो । यस्ता थुप्रै समस्याको समाधान गर्नु नै छ । क्रिकेटको हकमा प्रशंसामा समय खर्चनेभन्दा पनि भाबी सम्भावनाको अध्ययन र योजना बनाउने हो । जहासम्म ऋषि धमलाको सवाल छ, उनले लिएको टिभी अन्तरवार्ताको चर्चा छ । एउटा कुरा सत्य हो ‘अन्तरवार्ता लिने सञ्चारकर्मी आफै त्यस विषयम जानकार हुनै पर्छ ।’ तर, ऋषि धमलाबाहके अन्यले लिएको अन्तरवार्तामा विषयका जानकारी कत्ति थियो । सञ्चार क्षेत्रमा प्रवेश गर्न विषयगत जानकारी कत्ति हुनु पर्छ ? यो कुरामा नेपालको सम्पादकीय नेतृत्व कत्ति जिम्मेवार भयो ? कुनै एउटा विषयमा सञ्चारगृहभित्र वाहवाही कमाउने तर, सरोकारवाला क्षेत्रले सदैब गैरजिम्मेवारको आरोप लगाइने अवस्था पनि छ । सरोकारवालामा लोकप्रिय हुने र सञ्चारगृहभित्र सधै हतोत्साहित हुने समस्या के ऋषि धमलाले लिएको अन्तावार्ताभन्दा अघि थिएन ? ऋषि धमलाले लिएको अन्तरवार्ता हलुको थियो । कटुसत्य यो पनि हो कि अन्य सञ्चारकर्मीले पनि यस भन्दा अघि विषयगत जानकारी पूर्ण रुपमा राख्ने गरेका थिएनन् । यसकारण फेसबुकका भित्तामा समेत धमला जोक बनाउनेहरुले पहिले आफैबाट सुधार गर्ने कि †
खेलकुदमा पाएको सफलताभन्दा महत्वपूर्ण कुरा खेलकुदको संस्कारको हो । ‘मिहेनती व्यक्ति नै उत्कृष्ट हुन्छ । उत्कृष्ट नै च्याम्पियन हुन्छ’ खेलकुदको सर्वमान्यता यही हो । नेपालको राजनीतिक र सामाजिक नेतृत्व क्रिकेटको प्रशंसामा मात्र शब्द खर्चुुनभन्दा खेलकुदबाट यसको संस्कारबारे पाठ लिदै र आफूलाई सुधार गर्दै ठीक होइन र ? ‘अनुशाषित हुनु पर्छ, प्रतिद्वन्द्वीको सम्मान गर्नु पर्छ र कसैलाई हतोत्साहित गर्न पाइँदैन ।’ यो मान्यतालाई जबसम्म समाजले स्वीकार गर्दैन, त्यो समाजको नतिजामा दिलाएको सफलताको अर्थ रहँदैन । फेसबुकका भित्तादेखि चिया पसलसम्म भएका चर्चाले के यो संस्कारलाई जोगाएको छ ? अहँ छैन ।
व्यक्ति बस्तुवादी हुनु पर्छ । तथ्यगत हुनुपर्छ भन्ने मान्यतालाई नेपाली राज्य र समाजका अगुवाले अंगिकार गरे कि गरेनन् ? कसैलाई लाग्यो भने यो सबैभन्दा ऐतीहासिक र सर्वोत्कृष्ट भन्ने हचुवा प्रतिक्रियाहरु सुनिन थालेको छ । के यी शब्द प्रयोग गर्न समग्र अध्ययन आवश्यक छैन ? राज्य र समाजका अगुवाहरूले यसतर्फ अझै पनि ध्यान दिएनन् ।
क्रिकेटले एउटा सम्भावना देखाएको छ । राज्यको काम सम्भाव्यता अध्ययन गर्ने र योजना बनाउने नै हो । खुसीमा रमाएर फटाफट निर्णय मात्र गर्ने होइन । क्रिकेट खेलाडीको प्रशंसा त गर्नै पर्छ । उनीहरुले प्रशंसा गरिने खालकै खेल खेले । तर, नीति बनाउनेले सबैको सम्भावना र उपलब्धी ध्यान दिने कि नदिने ? नेपाली समाजको एउटा चरित्र छ केही सफलता पाए खुसीयालीमा पागल हुने र संयोगवश हुने दुर्घटनामा पनि मानदर्मन गर्ने । गतसाफ च्याम्पियनसिपमा एक दिन अगाडिसम्म फुटबल टोलीको प्रशंसामा समय खर्चिने भीड एक दिनपछि किरण चेम्जोङ र रोहित चन्दलाई गाली गर्नमै व्यस्त भयो । कमसेकम यो प्रवृत्तीबाट क्रिकेट टोली मुक्त होस् भन्ने हो । राज्य र समाजिक अगुवा भीडको आवाज मात्र होइन, तथ्यगत हुन् भन्ने हो ।

Leave A Response