पुनमको छोटो समयको लामो फड्को

पुनम चन्द, नेपाली राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबकी ओपन स्पाइकर । नेपालमा भलिबल नै यस्तो खेल हो, जुन लोकप्रियता र सफलता दुवै आधारमा पुरुष स्पर्धा भन्दा धेरै अघि छ । 

बङ्गलादेशमा २०१९ मा बङ्गलादेशको ढाकामा भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा उनी पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन् । सोही प्रतियोगितामा स्वर्ण पदक जित्नु उनका लागि सबै भन्दा महत्त्वपूर्ण रहेको छ । पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छिन् । चीनमा यसै वर्ष भएको १९ औ एसियाली खेलकुद उनले खेलेको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । 

सफलताको आधारमा काठमाडौँमा भएको १३ औ साग खेलको रजत पदक उनका लागि त्यत्तिकै महत्त्वपूर्ण छ । आठ वर्ष भलिबलमा बिताएको उनी सुरुवाती महेन्द्र नगरको शान्ति निकेतनमा रहँदा भलिबल खेल्न सुरु गरेकी हुन् । विद्यालयमा रहँदा नै शिक्षकहरूबाट उत्साहित उनी जगदीश भट्टले महेन्द्र नगरमा सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा उपस्थित भएकी थिइन् । 

सामान्य खेलाडीको रूपमा रहेकी पुनम २०७२ मा राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाए पछि उनले एक पछि अर्को सफलता पाएकी हुन् । महेन्द्र नगरबाट एसइई पुरा गरे पछि उनी उच्च शिक्षाका लागि छात्रवृत्ति स्वरूप एभरेस्ट इङ्लिस स्कुलमा आबद्ध भएकी हुन् । यसमा अर्जुन घिमिरेको सहयोग रहेको थियो । २०७५ को अन्त्यमा उनी नेपाल पुलिस क्लबमा आबद्ध भएकी थिइन् । उनको यो सफलतामा प्रशिक्षक रुपेस विष्ट र नेपाली भलिबलमा पूर्व कप्तान भरत शाहकै उत्तिकै साथ,समर्थन र सहयोग रहेको थियो । ‘ म होइन हरेक खेलाडीको उदयमा उहाँहरूको उत्तिकै योगदान छ ,’ पुनमले भनिन् । संयोग यस्तो रह्यो की उनी पुलिस आबद्ध हुनु र राष्ट्रिय टोलीमा प्रवेश एकै पटक परेको थियो । 

पछिल्लो वर्ष अन्य टोलीलाई नेपाल पुलिस क्लबले पछि पारि सकेको छ । पुलिस क्लबका थप सफलता र आफ्नो क्यारियरको माथिल्लो उचाइका लागि समर्पित उनी नेपाली भलिबललाई दर्शकले देखाएको माया र सद्भाव प्रति आभार व्यक्त गर्छिन् ।  सफलतामा उनी अन्य प्रशिक्षक र खासमा नेपाल पुलिस क्लब प्रति विशेष आभार व्यक्त गर्छिन् । खेललाई परिष्कृत गराउन पुलिस क्लब नै सिकाएको तथा पछिल्लो समय पाएको सफलतामा उनी टोलीका सहकर्मी माथि आभार व्यक्त गर्छिन् । 

पुलिस क्लबको यो सफलतामा सिङ्गो विभागको उत्तिकै भूमिका छ । हरेक परिणामलाई खेलको एउटा अङ्गको रूपमा स्विकार्ने र निरुत्साहित हुनै नदिने सिनीयरहरु नै टोली सफलताको एउटा महत्त्वपूर्ण कारण भएको उनी बताउँछिन् । भन्छिन्,‘ म पुलिस क्लबमा भएकोमा गर्व गर्छु । ’ परन्तु उनी एभरेस्टको यात्रा क्यारियरको टर्नीङ प्वाइन्ट भएको कहिल्यै पनि बिर्सन चाहन्नन् । 

Comment