शसिन र दीपेश दशौँ बबिन स्मृति ब्याडमिन्टन विजेता

ललितपुरका शसिन डङ्गोल र दीपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दसौँ खुल्ला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन् ।
सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दीपेशको जोडीले आयोजकका विकास चन्द्र राई र यम रानाको जोडीलाई २१ – १८, ११ – २१, २१ – १८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपविजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।
तेस्रो स्थानमा ललितपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।
भेट्रान्स डबल तर्फको खेलमा एभरेस्ट ब्याडमिन्टन क्लबका डी.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो स्थानमा पेप्सी क्लबका कृष्ण राम थापा र सुरेन्द्र कटुवालको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेस्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
विजेता खेलाडीहरूलाई पर्व उपप्रधान मन्त्री प्रकाश मान सिंह, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बाग्मती प्रदेशका समाभसद् दीपेन्द्र श्रेष्ठ र राजेन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment