एसियन एमच्योर चेस रोमाञ्चक मोडमा


मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेका छन् । पाँच चरणको समाप्तिमा पाँच जना खेलाडी ४.५ अङ्क सहित संयुक्त शीर्ष स्थानमा रहेका छन् । नेपालका सजिन महर्जन, रिजेन्द्र राजभण्डारी,प्रकाश नेपाल र कृष्ण थापाको साथमा भारतका सुमित ग्रोभर शीर्ष स्थानमा रहेका छन् । चौथो चरणसम्म अग्रता कायम गरेका रिजेन्द्र र सजिन बिच पाचौ चरणमा बराबरी भयो भने प्रकाश नेपालले सुरवीर लामा,सुमितले भारतकै सुभम सुक्ला र कृष्णले निकेन कुसाथलाई हराए । यसै गरी, नेपालका पुरुषोत्तम चौलागाइ र सुश्रुत दाहालको साथमा भारतका आर्नभ कुशहवा,पाकिस्तानका मोहम्मद सहजाद र मलेसियाका इसाक अहुफीजुलको चार अङ्क छ ।
सुश्रुतले सुरोज महर्जन,पुरुषोत्तमले काजकिस्तानका गब्दुसेभ अमार्न तथा इसाकले आफ्नै देशका ली सोइ हकलाई हराए । साहजादले इरानका अल्भीर मिर मोहम्मदलाई हराए । भारतका युवा खेलाडी आर्नभले नेपालका प्रेमकृष्ण मर्हजनसंगको खेलमा जित हात पारे ।
१५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिता स्विस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहीबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसै गरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणको हुने छ ।

Comment