झापालाइ माइभ्याली गोल्डकप फुटबलको उपाधि

तेस्रो अन्तर्रा्ष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रमपम झापा–११ ले जितेको छ । प्रतिस्पर्धात्मक खेलमा नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त १५ मिनेटमा दुबै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरमा झापाले जित हात पारेको हो । झापाका तर्फबाट रजीन धिमाल, रन्जित श्रेष्ठ, बुद्धराज चेम्जोङ र कर्ण लिम्बुले गोल गरे भने आर्मीबाट सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीले मात्रै गोल गरे । टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्कीको प्रहार बारमा लागेर फर्किएको थियो भने दिप लामाको प्रहार झापाका गोलरक्षक किशोर गिरीले बचाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका विवेक बस्नेत घोषित भए । उनले यामाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गरे । झापाका किशोर गिरी उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वोत्कृष्ट रक्षक झापाका दिलेन लोक्ताम, सर्वोत्कृष्ट मिडफिल्डर र ’म्यान अफ दि म्याच’ आर्मीका सन्तोष तामाङ घोषित भए । सर्वोत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत, उत्कृष्ट प्रशिक्षक झापाका सन्जय राई घोषित भए ।
उनीहरुले ७ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा २ गोल गरेका पुलिसका अविशेक रिजालले सर्वाधीक गोलकर्ता भए । उनले २५ हजार र उदियमान खेलाडी आयोजकका अविनाश लिम्बलेु १५ हजार रुपैया प्राप्त गरे । माइभ्याली गोल्डकपको पहिलो पुरस्कार सुर्योदय नगरपालिका निवासी तारा र रोजु सापकोटाले प्रायोजन गरेका थिए भने दोश्रो पुरस्कार बेलायतमा बस्ने इलामेलीहरुले प्रायोजन गरेको थिए । विजेता तथा उपविजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, नेविको बिस्कुटका एम्बेसेडर नायक शिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, तारा र रोजु सापकोटा लगायतले पुरस्कार प्रदान गरे ।

Comment