रेल्वे र एपीएफ उपाधि भिडन्तमा


प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा साबिक बिजेता भारतको रेल्वे र उपबिजेता एपीएफबीच उपाधिका लागि भिड्न्त हुने भएको छ । नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३–० कै सोझो सेटमा स्तब्ध बनायो । रेल्वले आर्मीलाई पहिलो सेटमा २५–१६ ले पछि पारेको थियो । दोश्रो सेटमा सुधारिएको खेल प्रदर्शन गरेको नेपाल आर्मीले २१–१९ को अग्रता लिए पनि नतिजामा बदल्न सकेन् । दोश्रो सेटको अन्तिम समयमा खेलमा फर्कदै रेल्वेले २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । तेश्रो सेटमा रेल्वेले आर्मीलाई २५–१४ मै रोक्दै उपाधि नजिक पुग्यो । दोश्रो सेमिफाईनलको एकतर्फी खेलमा साबिक उपबिजेता एपीएफले पुलिसलाई २५–१३,२५–७ र २५–२२ ले हरायो ।
लिगकम नकआउटको आधारमा संचालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ ।

Comment