हिमाल अगाडी, सुमन र सुमीतसंगै

chess4e
तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीलाई हराउँदै गोल्डेनगेट कलेजका हिमाल लामाले ललितपुरमा जारी चौथो सहकारी कप चेस प्रतियोगितामा एकल अग्रता लिन सफल भएका छन् । सोमबार भएको पाचौं चरणको खेलमा सेतो गोटीबाट सिसिलीयनको माकोर्जी भेरियसनमा खेलिएको खेलको ५० औं चालमा श्रीकरुणामय साकोसका बद्रीलालले हिमाललाई नतिजा सुम्पिए । यस अघि भएको चौथो चरणको खेलमा हिमालले राष्ट्रिय एमेच्योर च्याम्पियन जनता साकोस ठेचोका क्षितीज भण्डारीलाई हराए । पाचौं चरणको समाप्तिमा हिमालको ५ अंक भएको छ ।
थापाथली चेस पार्कका सुमन राई तथा नेशनल डेभलपमेन्टका सुमित पन्त समान ३ दशमलब ५ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । सोमबार दुबै खेलमा जित निकालेका सुमनले चौथोमा कामना साकोसका जनार्दन श्रेष्ठ तथा पाचौंमा ललितपुरका कमल श्रेष्ठमाथि जित हात पारे । त्यसैगरी सुमितले सोमबारका दुबै खेलमा पूर्व राष्ट्रिय च्याम्पियनमाथि जित हात पारे । सुमितले चौथो चरणमा अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल तथा पाचौंमा सिवानी एअरका नविन तण्डुकारमाथि उत्कृष्ट खेल पस्किंदै नतीजा आफ्नो पक्षमा पारे ।
शिर्ष वरियताका खेलाडीका लागि सोमबार सन्तोषजनक रहेन । वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका गोल्डेनगेट कलेजका केशव श्रेष्ठ चौथो तथा पाचौं चरणमा आफुभन्दा कम वरियताका नविन तण्डुकार तथा सुमन लामासँग बराबरीमा रोकिन पुगे । त्यसैगरी डायनामीक चेस क्लब दमकका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला पाचौं चरणमा भक्तपुरका विकास कुलुजुसँग हार्न पुगे । । अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल चौथो चरणमा सुमित पन्तसँग पराजीत भए ।
पाचौं चरणको समाप्तिमा श्री करुणामयका बद्रीलाल नेपाली, मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, भक्तपुरका विकास कुलुजु, कामना साकोसका सजिन महर्जन, जनता साकोसका क्षितीज भण्डारी, सिवानी एअरका रविन्द्र शाक्य तथा शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल समान ४ अंकमा रहेका छन् ।
त्यसैगरी गोल्डेनगेटका केशव श्रेष्ठ, अर्थका मनिष हमाल, सिवानीका नविन तण्डुकार, रुकुमका मिलन रोका, ललितपुरका कमल श्रेष्ठ, काठमाण्डौका सुमन लामा तथा थापाथली चेस पार्कका भरत धिमालको समान ३ दशमलब ५ अंक रहेको छ ।
डायनामिकका भुपेन्द्र निरौला, मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ तथा मनिराज डांगी, मिलिजुली साकोस दोलखाका बिक्रमध्वज श्रेष्ठ, बंगलामुखीका अविरल राई, भक्तपुरका केशव मानन्धर तथा गणेशमान दुवाल, थापाथली चेस पार्कका रञ्जित राई, नेपाल टेलिकमका गोविन्द खड्का, थापाथली पार्कका मदन रायमाझि तथा सञ्जित तामाङ, डा. प्रयास कक्षपति, बाग्लुङका रविन्द्र श्रेष्ठ, वल्र्डलिंकका सुर्यासन प्रजापति र ललितपुरका गोपाल महर्जन समान ३ अंकमा रहेका छन् ।
५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको चौथो दिन मंगलबार छैटौं तथा सातौैं चरणका खेल सञ्चालन हुनेछन् ।

Comment