चौथो सहकारी कप चेस शुरु

chess3eसहकारी कप चेस प्रतियोगिताको चौथो संस्करण शनिवारबाट ललितपुरमा शुरु भएको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजन रहेको चौथो कामना सहकारी कप चेस प्रतियोगितामा विभिन्न जिल्लाका ७४ जना खेलाडी प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतियोगिताको पहिलो दिन एक चरणका खेल सम्पन्न भए । थापाथली चेस पार्कका मोहनसिं प्रधानलाई पराजीत गर्दै वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका गोल्डेनगेट कलेजका केशव श्रेष्ठले विजयी शुरुवात गरेका छन् । त्यसैगरी पछिल्लो संस्करणका लिग विजेता डाईनामिक चेस क्लब दमकका भुपेन्द्र निरौलाले थापाथली चेस पार्कका कृष्ण सिग्देललाई हराए । गोल्डेनगेट कलेजका हिमाल लामा, मन्कादुकु साकोसका रिजेन्द्र राजभण्डारी, श्री करुणामय साकोसका बद्रीलाल नेपाली, मिलिजुली साकोस दोलखाका बिक्रमध्वज श्रेष्ठ, नेशनल डेभलपमेन्ट साकोसका लवकुमार श्रेष्ठ तथा नेपाल टेलिकमका गोविन्द खड्का आ–आफ्नो खेल जित्दै समान १ हात पार्न सफल भए ।त्यसैगरी मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त, थापाथली चेस पार्कका सुमन राई जिल्ला बहुउद्धेशीय सहकारीका पुन्यमान कर्माचार्य, ललितपुरका राजन पुरी, कामना साकोसका जनार्दन श्रेष्ठ, भक्तपुरका विकास कुलुजु, शुभश्रीका आशिष फुँयाल, गोल्डेनगेटका उत्तम ढुंगेल पनि समान १ अंक हात पार्न सफल भए । भक्तपुरका भेट्रान खेलाडी गणेशमान पुन पर्वतका अमृत कुमार गुरुङसँग बराबरीमा रोकिए ।
प्रतियोगिता फिडेको स्विस लिग अनुसार १० चरणसम्म सञ्चालन हुनेछ । सातौैं चरण पश्चात उत्कृष्ट ४ भित्र पर्ने खेलाडीको बीचमा दोहोरो लेगको नकआउट खेल सञ्चालन हुनेछ । नकआउट तर्फको विजेताले मोटरसाईकल उपहार प्राप्त गर्नेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ९८ हजार ४ सय रुपैंया रहेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिताको औपचारीक उदघाट्न गरेका थिए । प्रतियोगिताको दोश्रो दिन आईतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् ।

Comment