आदित्य र इशा च्याम्पियन

आदित्य सुवेदीले अकि जुबेन रावतलाई ८–५ ले हराउँदै दोस्रो राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिता अन्तर्गत यु–९ छात्रको उपाधि जितेका छन् । शुक्रबार सम्पन्न सोही उमेर समूहको छात्रातर्फ रायना शाहले इशाश्री शाहलाई ८–५ ले नै पन्छाएर विजेता बन्न सफल भइन् । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिसको कोर्टमा सम्पन्न यु–१० तर्फ आदित सुवेदी र सलोनी तामाङले फाइनल जिते । छात्रतर्फ आदितले आर्यन गिरिलाई ८–५ ले र छात्रातर्फ सलोनीले रायना शाहलाई ८–३ ले हराएर विजेता बनेका हुन् ।
यसैगरी यु–१२ को छात्रतर्फ सुलभ धितालले सम्यकभुषण बज्राचार्यलाई ६–३, ४–६, ६–३ ले पराजित गर्दै उपाधि जिते । यु–१४छात्रतर्फ भने संरक्षक भूषण बज्रचार्यले उपाधि जित्न सफल भएका छन् । उनले फाइनलमा रेन्जन लामालाई ६–२, ६–१ ले हराएका थिए । सोही उमेर समूहको छात्रातर्फ मायांका राणाले एनी माथेमालाई हराएकी थिइन् ।
खुला छात्र डबल्सतर्फ आभाष मल्ल र संक्षम कार्कीको जोडीले संरक्षक भूषण बज्राचार्यर प्रदीप खड्काको जोडीलाई पन्छाएर उपाधि जित्यो । सोही विधाको छात्रा डबल्समा मायांका र माहिका राणाले इरा रावत र अभिलाषा विष्टको जोडीलाई फाइनलमा हराए ।
प्रतियोगिताको यु–१६ का फाइनल खेलहरु आज हुदैछ । हिजो छात्र सेमिफाइनल खेलमा संरक्षक भूषणले संक्षम कार्कीलाई ६–१, ६–२ ले हराएर उपाधितिर अघि सरेका थिए । त्यस्तै अर्को खेलमा रेन्जन लामाले आभाषलाई ६–३, ६–३ ले हराएका थिए । छात्रातर्फको अन्तिम चारको खेलमा मायांकालाई इराले ७–६, ४–६, ६–४ ले हराएर फाइनलमा प्रवेश गरिन् । त्यस्तै अर्को खेलमा माहिकाले मेधाबी गिरिलाई ६–०, ६–२ ले पराजित गरेकी थिइन् ।

तस्बिर ः उज्वल डंगोल

Comment