निमालाई स्वर्ण युवराजलाई रजत

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

निमा घर्ती मगरले १२ औं सागअन्तर्गत उसुमा नेपाललाई सोमबार पहिलो स्वर्ण दिलाएकी छन् ।
सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा भएको थाउलोअन्तर्गत महिलाको नान् क्वान र नान् गुन अलराउन्डमा क्रमशः ८.४५ र ८.४६ गरी जम्मा १६.९१ अंक जोड्दै निमाले नेपालको स्वर्णको खडेरी तोडिन् । भारतकी स्वेच्छा जाताभ दोश्रो र पाकिस्तानकी मुस्बारा अख्तर तेश्रो भए ।कक्षा १० मा अध्ययनरत निमाले गोल्डेनगेट इन्टरनेसनल कलेजमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने भएकी छन् । उसु आयोजना स्थलमा उपस्थित डेपुटी सेभ दि मिसन समेत रहेका गोल्डेनगेटका पुरेन्द्रविक्रम लाखेले छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही स्पर्धाको पुरुषमा युवराज थापाले रजत जिते । उनले कुल १७.६६ अंक बटुले । उनले नान् क्वानमा ८.४१ र नान गुन्मा ९.२५ अंक जोड्न सफल भए । भारतका पुन्सिवा मेइतेइ पहिलो र श्रीलंकाका मनुरंगा तेश्रो बने ।योसहित उसुमा नेपालले १ स्वर्ण र ३ रजत गरी ४ पदक हात पारेको छ । अघिल्लो दिन पुरुषमा विजय सिन्जाली र महिलामा सुस्मिता तामाङले छाङ छ्वानमा रजत जितेका थिए ।
सान्सौंमा ३ महिला खेलाडीले फाइनल यात्रा तय गर्दै कम्तीमा रजत पक्का गरेका छन् ।
६३ केजीमा झरना गुरुङले अफ्गानिस्तान, ६० केजीमा जुनी राईले पाकिस्तान तथा ७० केजीमा विन्दु पुन मगरले पाकिस्तानका खेलाडीलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । तीनै खेलाडीले फाइनलमा भारतका खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

Comment