लनटेनिस टोली बैंकक जाने

tennise
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसमा सहभागी हुने खेलाडी वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको बैंकक जाने भएको छ ।सागका लागि समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी छनोट भएपनि हाल ३ पुरुष र ३ महिला खेलाडी नेपालबाट थाइल्यान्ड जाने छन् ।
पुरुषमा संरक्षकभूषण वज्राचार्य, श्रीराम मगर र कमल भण्डारी थाइल्यान्ड जाँदै छन् । अर्का खेलाडी अभिषेक बाँस्तोला अमेरिकामा रहेकाले उनी त्यतैबाट थाइल्यान्ड आउने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जानकारी गराइन् ।
महिलामा गंगा शर्मा, विभूति कार्की र विजिशा श्रेष्ठ छन् । सागका लागि छानिएकी इरा रावत थाइल्यान्डमै छिन् । इरा त्यहीबाट टोलीसंग मिसिने छिन् ।टिम प्रशिक्षकमा रेणुदेवी कोण्डा र श्रृष्टि श्रेष्ठ थापा छन् । जितेन्द्र परियार पनि प्रशिक्षकका रुपमा टोलीसंगै थाइल्यान्ड जाँदै छन् ।
पुरुषमा लनटेनिसले २ दशकपछि सहभागिता जनाउन लागेको हो । महिलाको स्पर्धा सागकै इतिहासमा पहिलोपटक समावेश गरिएको हो ।टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पा र लनटेनिस संघकी अध्यक्ष राणाले सातदोबाटोस्थित एनओसी मुख्यालयमा बिदाइ गरे ।

Comment