रेन्जन र माहिकालाई उपाधि

tennis finaleरेन्जन लामा र माहिका राणाले १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ सिंगल्स उपाधि शनिबार जितेका छन् । रेन्जन ब्वाइज र माहिका गल्र्समा च्याम्पियन बने ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा रेन्जनले विवेक श्रेष्ठलाई ६–० र ६–० ले सहजै पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा माहिकाले एनी माथेमालाई ६–७, ७–५ र ६–१ ले हराइन् । सेमिफाइनलमा माहिकाले जुम्ल्याहा दिदी मायांका तथा एनीले जुम्ल्याहा बहिनी क्याथ्रिन माथेमालाई निराश पार्दै उपाधि भिडन्त पक्का गरेका थिए । विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा प्रशान्त बस्नेत पहिलो भए । उनले फाइनलमा दीपेश केसीको चुनौती ६–२ र ६–२ ले समाप्त पारे । सो स्पर्धाको गल्र्समा इरा रावत पहिलो भएकी थिइन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार जिते ।
त्यस्तै सिंगल्सको यु–९ ब्वाइजमा आदित्य सुवेदी र गल्र्समा शुभाङ्गीलक्ष्मी शाह तथा यु–१० ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा रायना शाह पहिलो भएका थिए । डब्लसको ब्वाइजमा रेन्जन लामा र सक्षम कार्की तथा गल्र्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले उपाधि जितेका थिए ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ४८ हजार रुपैयाँ रहेको छ । यु–९ का विजेताले ७ हजार ५ सय र उपविजेताले ४ हजार, यु–१० का विजेताले १० हजार र उपविजेताले ५ हजार तथा डबल्सका विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।विजेतालाई चौधरी ग्रुपकी एक्सिक्युटिभ अश्रयता कार्की चौधरी, नेपाल ट्रायथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा नेपाल प्रहरी स्कुल, साँगाका लनटेनिस प्रशिक्षक रामकृष्ण जिसीलाई आयोजक मनजयकर टेनिस एकेडेमीले सम्मान गरेको थियो । अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जिसीलाई दोसल्ला ओड्याउनुका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरिन् । मंगलबारदेखि सुरु प्रतियोगितामा विभिन्न १० स्पर्धामा १ सय १ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment