अशोक र राजकुमार रसाइली फाइनलमा

wushu sundaye
सशस्त्र प्रहरी बलको एपीएफ क्लबका अशोक खालिङ र भक्तपुरका राजकुमार रसाइली भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडी छनोट गर्न आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताअन्तर्गत सान्सौंतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको पुरुष ५२ केजी सेमिफाइनलमा अशोकले काभ्रेका विराज तामाङ तथा १० औं सागका स्वर्ण विजेता राजकुमारले रामेछापका चन्द्र सुनवारलाई पराजित गरे ।
पुरुष ५६ केजीमा नेपाल प्रहरी क्लबका पदम बलामीले एपीएफका जुगुराम चौधरी तथा कैलालीका राजेश चौधरीले एपीएफका अमर सुनारलाई हराउदै फाइनलमा स्थान पक्का गरे । ६० केजीमा मकवानपुरका सन्तोषकुमार लामाले एपीएफका केशव थापा तथा एपीएफका मंगलप्रसाद थारुले नेपाल आर्मी क्लबका पदम राईको चुनौती पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
पुरुष ६५ केजीमा बाँकेका सरोज पुन र एपीएफका अनिश शाही फाइनलमा पुगे । सेमिफाइनलमा सरोजले भक्तपुरका प्रवेश राजथला तथा अनिशले एपीएफका वीरेन्द्रसिंह कटोरीलाई पाखा लगाए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ  ।

Comment