विशाल र सुष्मिता छनोट

sag wushue
नेपाल आर्मी क्लबका विशाल सिन्जाली र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सुष्मिता तामाङ भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका लागि शनिबार छनोट भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताअन्तर्गत थाउलोको छान छ्वानको पुरुषमा विशाल र महिलामा सुष्मिा पहिलो हुँदै छनोट भएका हुन् । विशालले ८.८५ तथा सुष्मिताले ८.५५ अंक जोडे ।
थाउलोको पुरुष र महिलामा समान ४–४ तथा सान्सौंको पुरुषमा ६ र महिलामा ३ स्पर्धामा प्रतिस्पर्धा भइरहेको उसु मुख्य प्रशिक्षक प्रनीलध्वज कार्कीले जनाएका छन् । कार्कीका अनुसार प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीले सागमा सहभागिताको अवसर पाउने छन् ।
छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको पनि सहभागिता रहेको छ । प्रहरीले उसुमा पहिलो पटक सहभागिता जनाएको प्रहरीका प्रशिक्षक एवं नेपाल उसु संघका कोषाध्यक्ष श्याम लामाले जनाएका छन् ।
सागमा उसु पहिलो पटक श्रीलंकामा भएको १० औं संस्करणदेखि प्रवेश गरेको हो । १० औं र ११ औंमा समान २–२ गरी ४ स्वर्ण उसुले प्राप्त गरिसकेको छ । छनोट सोमबार सम्पन्न हुनेछ ।

Comment