नेसनल राइडर्स ट्रेनिङ प्रोग्राम सम्पन्न

nasaa1
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा नेपाली मोटरसाइकल राइडरहरुका लागि एक दिने विशेष प्रशिक्षण कार्यक्रम ‘नेसनल राइडर्स ट्रेनिङ प्रोग्राम’ सम्पन्न भएको छ ।
वल्र्ड ट्रेड सेन्टरको डिइसिसी एवं राष्ट्रिय खेलकुद परिषदमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोटरसाइकल राइडिङ कौशलको सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान प्रदान गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा अमेरिकामा बसोबास गरिरहेका नेपाली ट्रयाक राइडर एवं प्रशिक्षक आशिषकुमार शाक्यले विभिन्न राइडिङ कौशलका वारेमा जानकारी प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र नेसनल लेभल लाइसेन्स प्रदान गरिएको छ । यसमा सहभागी राइडरहरु नै नासाले आगामी २ बर्षसम्म आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी हुन सक्ने र अन्य राइडरहरुले नोभिस क्याटागोरीमा मात्र भाग लिने पाउने नासाका उपाध्यक्ष सीताराम न्यौपानेले बताए । आगामी केही महिना भित्रै भारतको एफएमएससीआई (फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया) ले होन्डाको सहयोगमा चेन्नाई र काठमाडौंमा आयोजना गर्ने तालिममा समेत उनीहरु सहभागी हुन पाउने छन् ।
उक्त तालिम कार्यक्रममा सहभागी राइडरहरु नासाले यो भन्दा अघि सम्पन्न गरेका रेसमान्डु, अल्टिमेट क्रस, वुमन बाइकर्स च्याम्पियनसिप, वुमन नेसनल प्लेयर, होन्डा डिभा कप, नासा ट्रेन्ड राइडर्स आदिमा  सहभागी भइसकेका थिए । यो वाहेक चेन्नाई रेस ट्रयाक, मलेसिया ट्रयाक तथा कन्फेडरेसन अफ  अष्ट्रेलियन मोटर स्पोर्ट्स (क्याम्स) ले आयोजना गरेको योङ ड्राइभर्स ट्रेनिङमा सहभागी भएकाहरु पनि यो कार्यक्रममा सहभागी थिए ।

Comment