केभिआर समिट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिवार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घण्टा ४१ मिनेट ४ सेकेन्ड समय लगाए । चौथो चरणमा उहाँ दोस्रो स्थानमा रहेका थिए । पछिल्लो संस्करणको विजेता मिलान कुलुङ राई भने एक घण्टा ४३ मिनेट र २७ सेकेन्ड समय लगातार दोस्रो भए । दीपक अमात्यले (१ः५८ः२३ सेकेन्ड) तेस्रो स्थान बनाए ।
महिलातर्फ चौथो चरणको विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २० किमीको दुरी २ घण्टा १७ मिनेट ५७ सेकेन्डमा पुरा गरिन् । सोनिया (२ः२३ः२८ सेकेन्ड)ले दोस्रो स्थानमा चित्त बुझाइन् । नेपालकी छिरिङ ओङमु शेर्पा (२ः३२ः३० सेकेन्ड) तेस्रो भइन् ।
१० किलोमिटर दौडमा पुरुषतर्फ छिरिङ टासी ह्योल्मो (१ः१२ः१६ सेकेन्ड) पहिलो, प्रेमबहादुर सुनुवार (१ः१४ः४४ सेकेन्ड) दोस्रो र तिलविक्रम साम्बाहाङगे (१ः१६ः०९ सेकेन्ड) तेस्रो स्थानमा रहे । सो दुरीमा महिलातर्फ अनाबेल ग्रोन्तुनले एक घण्टा २१ मिनेट ५० सेकेन्ड समय लगाएर पहिलो स्थान हात पारिन् । मार्गउस टेस्टन (१ः३५ः३२ सेकेन्ड) दोस्रो र मुना लिम्बु (१ः३९ः१४ सेकेन्ड) तेस्रो स्थानमा रहे ।
२० किमीको दौड सिङ्गल ट्रीबाट सुरु भएर फूलबारी गेट, जामाचोर आम डाँडा हुँदै सिङ्गल ट्री मै पुगेर सम्पन्न भएको थियो । १० किमी दौड सिङ्गल ट्री, बतासे डाँडा इचंङगु भएर सिङ्गल ट्रीमै सकिएको थियो ।
“स्वस्थ रहौँ, रमाइलो गरौँ, र ट्रेलमै नेपाललाई चिनाऔँ” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कूल ९४ जना धावक धाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि नीरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले विजेतालाई पुरस्कार प्रदान गरे ।
