जिल्लास्तरीय लिग वुद्धिचाल सुरु

makwanpur chess1
मकवानपुर जिल्ला वुद्धिचाल संघको आयोजनामा पहिलोपटक हेटौंडामा जिल्लास्तरीय लिग वुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।     नेपाल–भारत मैत्री संघ मकवानपुरको प्रायोजनामा शुरु प्रतियोगिता शनिबार सुरु भएको हो । प्रतियोगिताको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा पहिलो राउण्डको खेल समाप्तहुँदा राजन थापामगर, रुपेशप्रसाद पालिखे, पवन सापकोटा, सन्देश खतिवडा, उत्तम मण्डल, सरोज छत्कुली, ज्ञानेन्द्रराज ढुंगेल, अस्मित अधिकारी, देबेन्द्र सञ्जेल र सुन्दर कार्की एक अकंप्राप्त गर्दे संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।
वुद्धिचाल संघ अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल वुद्धिचाल संघ केन्द्रीय महासचिव एकालाल श्रेष्ठ, नेपाल–भारत मैत्री संघ मकवानपुर अध्यक्ष अञ्जनीकुमार पराजुली, नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य प्रताप बिष्टलगायतको सहभागिता थियो ।
संघ अध्यक्ष प्रजापतिले प्रतियोगिताबाट उत्कृष्ट दश जना मकवानपुर च्याम्पियन्स लिगका लागि छनौट हुने बताए । उनका अनुसार पुसमा हुने च्याम्पियन्स लिगमा उत्कृष्ट दशसहित मकवानपुरका राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराएर सात जनालाई ‘ए’ र बाँकीलाई ‘बी’ डिभिजनमा सूचीकृत गरिनेछ ।
राउण्ड रोबिन बर्जर सिस्टममा सञ्चालन हुने प्रतियोगितामा पहिलो दर्ता हुने २० खेलाडीलाई मात्र लिगमा सहभागी गराइने छ । प्रतियोगितामा सहभागी खेलाडी सबैले अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गर्ने संघका उपाध्यक्ष धरमबहादुर लामाले बताए । प्रत्येक खेल ६० मिनेट प्लस ३० सकेन्ड इन्क्रिमेन्ट रहने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट चार खेलाडीलाई क्रमशःनगद चारहजार, तीनहजार र दुईहजार र एकहजार रुपियाँले पुरस्कृत गरिने प्रायोजक संघ अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीले १९ राउण्ड खेल खेल्नेछन् । प्रतियोगिता ९० दिनभित्र समापन हुनेछ । प्रत्येक शनिबार दश सातासम्म सञ्चालन हुने प्रतियोगिता जिल्लामा रेटेड खेलाडी उत्पादन गर्न सार्थक सावित हुने विश्वास लिइएको छ ।
संघले विद्यालयस्तरमा खेलाडी वृद्धि गर्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । संघले च्याम्पियन्स लिगपछि विद्यालय, निर्वाचन क्षेत्रस्तरीय र जिल्लास्तरीय प्रतियोतिगता आयोजना गर्ने भएको छ । जिल्लास्तरीय प्रतियोगितापश्चात् अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ ।

Comment