अन्तरविद्यालय वुद्धिचालमा कुमुदिनी होम्स् च्याम्पियन

कास्की जिल्ला वुद्धिचाल संघद्धारा आयोजित ७ औं अन्तरविद्यालय वुद्धिचाल प्रतियोगितामा कुमुदिनी होम्स् उमावि पोखरा च्याम्पियन बन्न सफल भएको छ । संघले २९ देखि ३१ भदौेसम्म आयोजना गरेको प्रतियोगितामा सहभागी कुमुदिनीका विद्यार्थीहरुले उत्कृष्ट प्रर्दशन गरे पछि च्याम्पियन बन्दै विद्यालयले रनिङ शिल्ड प्राप्त गरेको हो ।
व्यक्तिगत स्कोरतर्फ मदरल्याण्ड उमाविका आशिष घिसिङ आठ अंककासाथ पहिलो, कुमुदिनी उमाविमा अटल कोइराला सात अंकसहित दोस्रो र ग्लोबल कलेजियट उमाविका सुवास क्षेत्री सात अंककासाथ तेस्रो बन्न सफल भए । त्यसैगरी प्रतियोगितामा कुमुदिनीका विद्यार्थीहरु सुवास केसी र महिम पालिखे छ अंकका साथ क्रमश चौथो र पाँचौ भएका थिए ।
छात्रा तर्फको खेलमा कुमुदिनी यमुना अर्याल पहिलो हुन सफल भएका थिए । सो प्रतियोगितामा एसओएस घारीपाटनका स्मृति बराल दोस्रो, ग्लोबल कलेजियटका  पल्लवी किरण भट्टराई तेस्रो, एसओएस घारीपाटकका बबिता रेग्मी र विद्या पौडेल क्रमश चौथो तथा पाँचौ भएका थिए ।
वुद्धिचाल प्रतियोगितामा कास्कीका २५ विद्यालयका ९३ जना विद्यार्थीहरु सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्विस लिग प्रणाली अनुसार विभिन्न आठ चरणहरुमा सो प्रतियोगिता गराइएको संघले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न संघका सल्लाहकार श्यामसुन्दर ताम्राकार संयोजक तथा महेश्वर अधिकारी र अनिलबहादुर कोइराला सदस्यहरु रहेको निर्णायक मण्डल गठन गरिएको थियो । एक समारोहका वीच प्रतियोगी विद्यार्थीहरुलाई प्रमूख अतिथि कास्की जिल्ला विज्ञान शिक्षक परिषदका अध्यक्ष नन्दलाल त्रिपाठी एवम् संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए । संघका अध्यक्ष बाबुराम पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव महादेव पहारीले कार्यक्रम संचालन र कोषाध्यक्ष शुक्र प्रधानले स्वागत मन्तव्य राखेका थिए ।

Comment