कुशल, निकेश र सुनीतालाई स्वर्ण

प्रथम मनमैजु दौड प्रतियोगिताको छात्र ११–१४ वर्षमा रिपु मर्डिनी सैनिक स्कुलका कुशल थापा, छात्र १४–१६ वर्षमा विन्दावासीनी माविका निकेश महर्जन तथा छात्रा ११–१६ वर्षमा विजेश्वरी ज्ञान मन्दिरकी सुनीता श्रेष्ठ सोमबार पहिलो भएका छन् ।
कुशलले निर्धारित दूरी १६ मिनेट २० सेकेन्डमा पूरा गरे । बालाजु तेक्वान्दो डोजाङका इशान भण्डारी दोश्रो र न्यु क्रिएटिभ स्कुलका बाबुछिरी शेर्पा तेश्रो भए ।
बालदिवसको उपलक्ष्यमा नवशान्तिक्लब, मनमैजु तेक्वान्दो डोजाङ र नवशान्ति कराते डोजोद्वारा संयुक्त आयोजित प्रतियोगितामा निकेशले निर्धारित दूरी तय गर्न १४ मिनेट ५७ सेकेन्ड समय लगाए । एपीएफ स्कुलका आश्वासन मिश्र दोश्रो र एपीएफकै उज्ज्वल खरेल तेश्रो बने ।    सुनीताले दौड १६ मिनेट ४८ सेकेन्डमा सिध्याइन् । विजेश्वरीकी सुजाता दर्लामी दोश्रो र बालाजु तेक्वान्दो डोजाङकी उर्मिला तामाङ तेश्रो भए ।
तीनवटै स्पर्धामा ४ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । सबै विधामा पहिलो हुनेले २ हजार ५ सय, दोश्रोले २ हजार र तेश्रोले १ हजार ५ सय रुपैया पुरस्कार हात पारे । विभिन्न २५ स्कुल र संस्थाका १ सय ५० प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई सभासद द्वय भीमसेनदास प्रधान र बहादुरसिंह लामा लगायतले पुरस्कार वितरण गरे ।

Comment