टेनिसमा ज्योति नयाँ अध्यक्ष

jyuti ranaa अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । दिनेश तुलाधर र विनोद कायश्थले उपाध्यक्ष, मनोहरदास मुलले महासचिव, मालिका राणा बस्नेतले सचिव तथा सञ्जय अमात्यले कोषाध्यक्षको जिम्मेवारी पाए ।

अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दाबा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष र ७ सदस्य आउन बाँकी छ । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारणसभामा विभिन्न १४ जिल्लाका २७ र केन्द्रबाट १३ गरी जम्मा ४० प्रतिनिधिको उपस्थिति रहेको संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेश श्रेष्ठले जनाएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत एवं संघसंस्था समन्वय शाखाका प्रमुख टेकप्रसाद कट्टेलले शपथग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष राणाले बोलेरभन्दा पनि काम गरेर देखाउने परिपाटीमा जोड दिनुपर्ने बताउँदै म होइन हामी भन्ने भावनालाई आत्मासात गर्दै ‘टिम वर्क’ का आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसअघि भएको उद्घाटन समारोहमा बोल्दै  प्रमुखअतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव लामा टेन्डी शेर्पाले वर्तमान परिषद् बोर्ड सबै संघलाई वितरण गर्ने बजेटमा वैज्ञानिक नीति अपनाउने र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाए । कार्यक्रममा साधारणसभा आयोजक कमिटीका प्रमुख मनोज राणाले आप्mनो कार्यकालको प्रगति विवरण पेस गरेका थिए ।

Comment