वादोरियो कराते टोली भारत प्रस्थान

bado
छैटौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । २२ र २३ अगस्टमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप थारूले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको एकल कातामा मनोज लामाले प्रदर्शन गर्नेछन् ।
महिलाको ५०–५५ केजीमा रोएकता सिंह, ४५–५० केजीमा अन्जु मगर तथा ४०–४५ केजीमा याङ डोल्मा शेर्पाले भाग लिनेछन् । टोलीनेतामा नेपाल कराते महासंघका महासचिव, दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन् । टोलीलाई नेपाल वादोरियो कराते डो संघका पदाधिकारी, खेलाडीका अभिभावकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । अघिल्लो संस्करणमा नेपालले ९ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि चुमेको थियो ।

Comment