राष्ट्रिय लिग भदौ मध्यदेखि

Manoj Shiama
10 July, 2015 8:34 am

गत वैशाख १२ गते गएको भूकम्पका कारण रोकिएको राष्ट्रिय लिग भदौ १८ गतेबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष तथा संविधानसभाका सदस्य गणेश थापाको अध्यक्षतामा राष्ट्रिय लिगमा सहभागिता जनाएका क्लबका पदाधिकारीबीच बिहीबार बसेको बैठकले भदौ १८ गतेबाट रोकिएको लिग पुनः सुरु गर्ने तयारी गरेको हो । लिग दसैंअघि ३० असोजसम्म चल्नेछ । पहिलोपटक होम एन्ड अवे पद्धतिको आधारमा गत माघबाट सुरु भएको एन्फाको महत्वाकांक्षी राष्ट्रिय लिगका ७१ खेलमध्ये ४० खेल खेल्न बाँकी छन् । यस्तै, क्बलका पदाधिकारीसहित बसेको बैठकले सम्झौता सकिएका विदेशी खेलाडीको हकमा क्लबले पुनः सम्झौता गराउन पाउने निनर्णय गरेको छ । एक क्लबले बढीमा ६ जना विदेशी खेलाडीलाई राख्न पाउने प्रावधान छ भने बढीमा तीन जनालाई मैदानमा उतार्न पाउने नियम छ ।
भूकम्प गएकै दिन झापाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले मोरङ फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । लिगमा आठ खेल खेलेको झापा–११ १६ अंकसहित लिगको शीर्षस्थानमा छ । एक खेल कम खेलेको एपिएफ १४ अंकसहित दोस्रो स्थानमा छ । आर्मी तेस्रो तथा दुई खेल कम खेलेको थ्रिस्टार लिगको चौथो स्थानमा छ ।