त्रीदेशीय टुरिङ ¥याली हुने

touring
आगामी मार्च महिनाको पहिलो सातामा त्रीदेशीय टुरिङ ¥याली आयोजना हुने भएको छ । बंगलादेशको चटगाउँबाट प्रारम्भ हुने उक्त ¥याली भारतका विभिन्न स्थान हुँदै नेपालको राजधानी काठमाडौंमा पुगेर समापन हुनेछ । उक्त ¥यालीमा बंगलादेश, भारत र नेपालका सवारीसाधन सहभागी हुनेछन् । यो बाहेक सम्भव भएसम्म भूटान र श्रीलंकाको समेत प्रतिनिधित्व हुने सम्भावना छ ।
मलेसियामा सम्पन्न एफआइए रिजन २ को मिटिङको अवसरमा उक्त निर्णय गरिएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), अटोमोबाइल्स एसोसिएसन बंगलादेश र फेडरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसनले उक्त ¥यालीको आयोजना गर्नेछन् । हालै सम्पन्न दक्षिण एसियाका चार मुलुक भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) बीच भएको यातायात सम्झौतालाई कार्यान्वयन गर्नका लागि पनि यो ¥यालीले प्रभावकारी भूमिका खेल्नेछ । गत बर्ष नासाले पनि यस प्रकारको त्रीदेशीय ¥याली गर्ने प्रतिबद्धता जनाएको थियो भने केही समय अघि सम्पन्न इन्डो–नेपाल फ्रेन्डसिप ¥यालीको अवसरमा पनि यो प्रसँग उठेको थियो । त्यसैले नासाको समेत पहलमा यो क्षेत्रमै पहिलो पटक त्रीदेशीय टुरिङ ¥याली आयोजना हुने नासाका महाचिव गोविन्द भट्टराई बताउछन् । नासाका उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई समेतको उपस्थितिमा यो निर्णय गरिएको हो । फीया मोटर स्पोर्ट्स, मोबिलिटी र टुरिज्मको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) एफआईएमा आवद्ध संस्था हो र यो गत बर्षदेखि मोबिलिटी तथा टुरिज्मको क्षेत्रमा समेत प्रवेश गरेको छ ।

Comment