नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, जेठ ६– अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नेपाल बुद्धिचाल महासङ्घभित्रको विवाद चर्किएको छ ।
काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपेन राईको नेतृत्वमा रहेको विद्रोही समूहले महासङ्घका अध्यक्ष महर्जन र महासचिव धरमबहादुर अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिएको छ । विधानअनुसार साधारण सभाका कुल सङ्ख्याको एक चौथाइ (३० जना) ले महासङ्घका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने व्यवस्था छ । तर, महासङ्घको ११८ जनाको साधारण सभा सदस्यमध्ये ४२ जनाले अध्यक्ष र महासचिवविरुद्ध अविश्वास दर्ता गराएका हुन् ।
यद्यपि, अध्यक्ष र महासचिवले लगातार अनियमितता, अपारदर्शिता र विधान विपरीत काम गर्न थालेपछि फेरि अविश्वास ल्याएको कार्यसमितिले जनाएको छ । वैशाख ११ गते पुनः दर्ता गरिएको बताइएको छ । हालसम्म ४२ जनाले अविश्वास प्रस्तावमा समर्थन जनाएको दाबी गरिएको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपेन राईसहित उपाध्यक्ष धनबहादुर बोगटी, उपमहासचिव मोनालिसा खुम्बु, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य बबिदेवल पुनले असन्तुष्टि जनाउँदै कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ राख्दै आएको बताइएको छ । उक्त कार्यक्रममा नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्जिटर ज्ञानेन्द्र खाइजु पनि उपस्थित थिए ।
वरिष्ठ उपाध्यक्ष राई पक्षले महासङ्घभित्र विभिन्न अनियमितता भएको आरोप लगाएको छ । उनीहरूले नियमित रूपमा बस्नुपर्ने कार्यसमिति बैठक नराखिएको, खेलाडी छनोट प्रक्रियामा अपारदर्शिता रहेको, नक्कली प्रतिवेदन अन्तर्राष्ट्रिय महासङ्घमा पठाइएको तथा मानव तस्करीजस्ता गम्भीर आरोपसमेत अध्यक्ष र महासचिवमाथि लगाएका छन् ।
अविश्वासबारे यी विषयमा अध्यक्ष र महासचिवलाई जानकारी गराइसकेको तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सम्बन्धित शिक्षा तथा खेलकुद मन्त्रालयमा पनि निवेदन दिइएको जनाइएको छ । तर, विशेष साधारण सभा बोलाउन राखेपले स्वीकृति नदिएको आरोप समूहले लगाएको छ । विद्रोही र वर्तमान नेतृत्व दुवै पक्षले आफूलाई वैधानिक दाबी गर्दै राखेपसमक्ष विशेष साधारण सभा गर्नका लागि स्वीकृति दिन आग्रह गरिरहेका छन् । यसैबिच, १६ खेलाडी सहित खेलाडीलाई विदेश पठाउने निर्णय भए पनि भिसा आवेदनमा २६ जनाको नाम समावेश गरिएको पाइएपछि विवाद थप चर्किएको छ । असम्बन्धित व्यक्तिहरूको नाम समावेश हुँदा भिसा अस्वीकृत भएको र त्यसका कारण खेलाडीहरू ओलम्पियाडमा सहभागी हुन नपाएको उनीहरूले आरोप लगाइएको छ ।
विद्रोही समूहले नेतृत्वले अविश्वास प्रस्तावपछि पनि विधान विपरीत काम गरिरहेको आरोप लगाएको छ । हेटौडामा साधारण सभा उपयुक्त नभएको ठहर गर्दै काठमाडौँमा नै साधारण सभा आयोजना गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् समक्ष माग गरेको छ ।
