घरेलु टोली रुपन्देही उपाधि नजिक

बुटवल
बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्डकपमा दार्जिलिङ–११ लाई फराकिलो अन्तरले पराजित गर्दै आयोजक सोना रुपन्देही–११ तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार एन्फा टेकिनकल सेन्टरमा पहिलो सेमिफाइनलमा दार्जििलङलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही उपाधि नजिक पुगेको हो ।
घरेलु टोली रुपन्देहीले पाहुना टोलिविरुद्व निकै उच्च प्रदर्शन गरेको थियो । फराकिलो जित निकाल्ने क्रममा रुपन्देहीका दिपक राईले ह्याट्रिक पुरा गरे । ए डिभिजनका विभिन्न क्लबमा आबद्द खेलाडीहरुलाई मैदानमा उतारेको घरेलु टिम रुपन्देहीले खेलको १६ औ मिनेटमा अग्रता बनायो ।  विमल घर्तीमगरलाई फल गरेपछि पाएको पेनाल्टीलाई पुकार गहतराजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै दार्जिलिङले सम्हालिन नपाउदै अर्काे गोल खान पुग्यो । २० औ मिनेटमा दिपक राईले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलको ३५ औ मिनेटमा दार्जिलिङले अग्रता कम बनायो । उसका एभोन राईले गोल गर्दै खेल २–१ मा ल्याएका थिए । तर, ४२ औ मिनेटमा विमल घर्तीमगरले गोल गरेपछि पहिलो हाफमा रुपन्देही ३–१ गोल अन्तरले अघि रह्यो ।

दोस्रो हाफमा दिपक चम्किएको खेलमा रुपन्देहीले दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ५४ औ मिनेटमा दोस्रो गोल गरेको दिपकले ५९ औ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।  दिपकको ह्याट्रिक प्रतियोगिताकै पहिलो ह्याट्रिक हो ।  त्यसपछि खेलको ७५ औ मिनेटमा भाइचोङ राईले गोल गरेपनि दार्जिलिङ खेलमा फर्कन नसक्दा सेमिफाइनलबाट बाहिरिन पुग्यो । खेलमा रुपन्देहीका विमल घर्तीमगर  म्यान अफ दि म्याच घोषित भए ।
अब उपाधिका लागि रुपन्देहीले शनिबार झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।  भूकम्पपीडितका लागि सहयोग जुटाउने लक्ष्यसहित रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको बिजेताले ट्रफीसहित ३ लाख ७५ हजार रुपैया प्राप्त गर्नेछन् । .

Comment