एन्फा प्रेसिडेन्ट लिग सुरु

Manoj Shiama
5 November, 2025 11:24 pm

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधवार सुरु भएको छ । मकवानपुर स्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४–१ ले हरायो । चित्लाङका लागि चन्दन कुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे । देउरालीका राम चन्द्र वाजीले गोल गरे । चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए । 

बुधवार  भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लाली गुराँस एसोसिएसनका बिचमा गोल रहित बराबरी भयो । लाली गुराँसका सुरज ज्यु ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए । 

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ  । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् । 

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ । 

 प्रेसिडेन्ट लिगको एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङले उद्घाटन गरे । सो अवसरमा बोल्दै नेम्बाङले प्रतियोगिताले नेपाली फुटबलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।