नेपालको फराकिलो जित 

Manoj Shiama
3 July, 2025 7:57 am

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा फराकिलो अन्तरको जित हात पारेको छ । लाओससँगको पहिलो खेलमा ९–० को जित हात पारेको नेपालले बुधवार श्रीलङ्कासँग भएको खेलमा ८–० को फराकिलो जित हात पारेको हो । लगातार दुई जित पछि नेपाल एसियन कप छनोटबाट एक खेल टाढा रहेको छ । शनिवार उज्बेकिस्तानसँग हुने खेलमा जित हात पारे नेपाल एसिया कपमा छनोट हुने छ । 

नेपालका लागि सावित्री भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले २ गोल गरेको खेलमा निशा थोकर, रेखा पौडेल र पूजा रानाले थप गोल गरे । उज्बेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा बखेलको पहिलो हाफमै सावित्री भण्डारी साम्बाले ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि अग्रता भने खेलको सातौँ मिनेटमा गीता रानाले दिलाइन् । समूह ‘एफ’ मा रहेको नेपालका लागि खेलको २०, ४२ र ४४ औँ मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरेकी हुन् । ६० औँ खेलमा साम्बाको त्यो ६४ औँ गोल हो ।

पहिलो हाफमा कप्तान सावित्री भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गीता रानाले १ गोल गरेको अवस्थामा दोस्रो हाफमा नेपालले ४ गोल थपेको हो । नेपालका लागि गीताले खलेको ५४ औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् । त्यसपछि ६२ औँ मिनेटमा निशा थोकर, ७८ मिनेटमा रेखा पौडेल र ८९ औँ मिनेटमा पूजा रानाले गोल गरिन् ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली उज्बेकिस्तानसँग १०–० को हार भोगेको थियो । श्रीलंकाविरूद्ध नेपाल अहिलेसम्मका ८ खेलमा नेपाल अपराजित छ । फिफा वरियतामा नेपाल श्रीलङ्का भन्दा ५९ स्थान माथि छ । नेपाल १०० र श्रीलङ्का १५९ औँ स्थानमा छन् । पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्बेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ । नेपालले तेस्रो खेल शनिवार उज्बेकिस्तानसँग खेल्ने छ ।