ललितपुरले जित्यो एनसेल उपाधि

Manoj Shiama
27 April, 2025 5:11 am

बारम्बार झडप भएको खेलमा सफलता पाउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । उपाधि जोगाउने क्रममा ललितपुरले फाइनलमा पोखरा थन्डर्सलाई २–१ ले पराजित गरेको हो । पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार सम्पन्न खेलमा ललितपुरले २ विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो । ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो । यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए । ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलोपल्ट फाइनल पुगेको पोखराका लागि भने यो खेल पीडादायी बन्यो । 

ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे । उनले १गोल गर्नुका साथै  १ अशिष्ट गरे । ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले २ गोल गरेका थिए ।

अर्को गोल भने पापा इबु केबले गरेका हुन् । पोखराका सुदील राईले गरेको गोल सान्त्वनाबाहेक केही रहेन । ललितपुरलाई सुरुआती अग्रता लिन ४२औँ मिनेटसम्म कुर्न परेको थियो ।

इजिकेलले लामो समयको प्रतीक्षा अन्त्य गर्दिए। मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए । सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै गोलमा परिणत गरे । उनलाई समीर तामाङ र एकराज बुढाथोकीले पनि रोक्न सकेनन् । प्रतियोगितामा उनको यो तेस्रो गोल हो ।

६४औँ मिनेटमा सुदीलले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले सेभ गरेका थिए ।

रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे। उनलाई ललितपुरका डिफेन्डर सनिश श्रेष्ठले रोक्न सकेनन्। प्रतियोगितामा सुदीलको यो दोस्रो गोल हो ।

१० मिनेटपछि नै ललितपुर फेरी अग्रता लिन सफल भएको हो । इजिकेलले पेनाल्टी बक्सनजिकबाट दिएको बललाई पापाले कन्ट्रोल गर्दै गोलमा परिणत गरे । पोखराका दुई डिफेन्डर नजिकै भए पनि उनलाई रोक्न सकेनन् ।

पापाको यो प्रतियोगिताको दोस्रो गोल हो । दोस्रो पटक पछाडि परेसँगै पोखराका खेलाडी केही आक्रोशित बनेका थिए । पहिलो हाफमा कुनै दृश्य नदेखिए पनि दोस्रो हाफमा भने दुवै टोलीबिच हात हालाहाल र धकेलाधकेलको स्थित देखिएको थियो । ललितपुरलाई त्यसले केही फरक पारेन र उपाधि पुनः आफ्नो पोल्टामा पा¥यो ।